PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

प्रधानमन्त्री प्रचण्ड भन्छन्- 'त्रिदेशीय साझेदारीबाट सबैको हित'



रमेश वाग्ले

प्रधानमन्त्री प्रचण्ड भन्छन्- 'त्रिदेशीय साझेदारीबाट सबैको हित'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको समृद्धि र विकासका लागि नेपालसहित भारत र चीनबीच त्रिदेशीय साझेदारी तीन वटै देशको हितका लागि आवश्यक रहेको बताएका छन्।
 
भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको अवसर पारेर इण्डिया फाउण्डेशनको आयोजना नेपाल भारत नीति अनुसन्धान परिषद् र नेपाल सेन्टर फर कन्टेम्पोररी स्टडिजको सहआयोजनामा दुई देशका प्रबुद्ध व्यक्तित्व सहभागी 'फर्स्ट बाइलेटरल डाइलग नेपाल एण्ड भारत : एक्सप्लोरिङ न्यु भिस्टास' विषयक सेमिनार उद्घाटनमा दाहालले त्रिदेशीय साझेदारीबाट तीनै देशले लाभ हासिल गर्न सक्ने बताए। उनले भने, 'त्रिदेशीय साझेदारीबाट हामी सबैको हित हुन्छ।'
 
भारत र चीनजस्ता उदीयमान शक्तिको बीचमा नेपाल रहनु अवसर भएको भन्दै त्यसबाट लाभ लिन सकिने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। 'आर्थिक समृद्धितर्फ द्रुत गतिमा अघि बढिरहेका भारत र चीनबाट नेपालले लाभ लिन सक्छ,' उनले भने, 'दुई देशको विकास नेपालका लागि उचित पाठ पनि हो।'
 
भारतसँग नेपालको देश देशबीचको मात्र नभई जनजनबीचको सम्बन्ध रहेको भन्दै सम्बन्धलाई अझ सुदृढ र सशक्त बनाउन गम्भीरताका साथ लागेको बताए।
 
उनले भारतबाट नेपालले उच्च प्रविधि, दक्ष जनशक्तिको प्रसारको आशा राखेको बताए। दाहालले नेपाल अवसरको उर्वर भूमि भएको भन्दै त्यसको सदुपयोगका लागि भारतको सहयोग अनिवार्य रहेकोमा जोड दिए।
 
नेपाल र भारतको इतिहास गौरवशाली घटनाले भरिएको भन्दै उनले विगतका सुन्दर क्षणलाई फर्काउन दुवै देशको दायित्व रहेको धारणा राखेका छन्। 'शान्तिका अग्रदूत बुद्धका अलावा महान् चिन्तकहरूको जन्मभूमिमा गरिबी र गम्भीर समस्याहरुसँग जुध्नुपर्ने अवस्था आएको छ,' उनले भने, 'दुवै देश मिलेर परिवर्तन र समृद्धिको मार्ग निर्माणमा लाग्नुपर्छ।'
 

नेपाल-भारत सम्बन्ध हिमालभन्दा अग्लो सागरभन्दा गहिरो

प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियामा भारतको महत्वपूर्ण सहयोग रहेको भन्दै भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा रहेको बताए।
 
भारतसँग बढ्दो व्यापार घाटा कम गर्न भारतीय पक्षबाट पहकदमी हुने आशा रहेको उनको भनाइ छ।
 
दुई देशका प्रबुद्ध समुदायले द्विपक्षीय हितको लागि बृहत् छलफल गरी निष्कर्ष निकाल्ने उनको विश्वास थियो। उनले सरकारीस्तरमा मात्र नभई जनस्तरसम्म सम्बन्ध र द्विपक्षीय हितको विषय प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए।
 
भारतीय जनता पार्टीका महासचिव तथा इण्डिया फाउण्डेशनका निर्देशक राम माधवले नेपालमा सबैलाई चित्त बुझ्नेगरी संविधान कार्यान्वयन होस् भन्ने भारतको चाहना रहेको बताए। भारत नेपालको समृद्धि, शान्ति र दिगो विकासको पक्षमा रहेको भन्दै दुई देशको सहमतिबाट त्यस्तो लक्ष्य हासिल हुने बताए। उनले भने, 'दुई देशको हितको रक्षार्थ हामी मिलेर अगाडि बढौं।'
 
'नेपाल र भारतबीचको सम्बन्ध हिमाल भन्दा अग्लो र सागर भन्दा गहिरो छ,' माधवले भने, 'यही सम्बन्धलाई अगाडि बढाउँदा दुवै देशको हित हुनेछ।' उनले दुई देशको सम्बन्ध सदृढ बनाउन आफूहरु 'थिङ्क ट्याङ्क'को सोचभन्दा 'डु ट्याङ्क'को सोचले अगाडि बढेको जानकारी गराए। दुई दिने छलफलबाट दुई देशबीच प्रगाढ सम्बन्ध र बहुक्षेत्रबारे छलफल गरी आपसी लाभबारे निष्कर्ष निकाल्न लागेको उनले बताए।
 
प्राध्यापक लोकराज बरालले नेपाल र भारतबीचको सम्बन्ध राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणले अझ प्रगाढ बनाउने भनाइ राखे। नेपाल-भारत
सेमिनारका कन्भेनर पूर्वनिर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले दुई देशको सम्बन्ध प्रगाढ बनाउन सबैले आ-आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने बताए। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास उनको थियो।
 
नीति अनुसन्धान प्रतिष्ठानका प्रबन्ध निर्देशक दीपक अधिकारीले आपसी छलफल र बहसले दुई देशको हितका लागि उचित निष्कर्ष निकाल्ने उद्देश्य राखेको बताए।

कार्यक्रममा पूर्वराजदूत डा. जयराज आचार्यले प्रधानमन्त्री प्रचण्ड र फ्रेण्डस् बिजेपीकी नेपाल अध्यक्ष नलिनी ज्ञवालीले संयुक्त रुपमा बिजेपी महासचिव राम माधवलाई टोकन अफ लभ दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell