काठमाडौँ : प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलि शुक्रबार देखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ।
यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका खेलहरु दिउँसो १२ बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ।
नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिता हेर्न प्रवेश निःशुल्क गरिएको नेपाली सेनाले जनाएको छ।
महिला फुटबलको स्तर सुधार्ने तथा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि योग्य तुल्याउने उद्देश्यले नेपाली सेनाले उक्त प्रतियोगिता गर्दै आएको हो।
त्यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि विभिन्न विधाका महिला खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आएको छ।
नेपाली सेनाको आयोजनामा हुने उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोग रहने छ।
यस्ता प्रतियोगिताबाट नेपालको फुटबल विकास तथा महिला खेलाडीको प्रतिभा प्रदर्शन गर्न योगदान पुग्ने विश्वास सेनाले लिएको छ। रासस
सहभागी टीमहरु
नेपाल अर्मी क्लब
नेपाल एपीएफ क्लब
नेपाल पुलिस क्लब
पुर्वाञ्चल विकास क्षेत्र
मध्यमाञ्चल विकास क्षेत्र
पश्चिमाञ्चल विकास क्षेत्र
मध्य पश्चिमाञ्चल विकास क्षेत्र
सुदुर पश्चिमाञ्चल विकास क्षेत्र
बिहार टीम, भारत
सिक्किम टीम, भारत