.jpg)
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेता भएको बताएका छन्।
काठमाडौं विश्वविद्यालयले आज राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न आयोजना गरेको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन उनले निर्वाह गर्नुभएको भूमिकाको सराहना गरे।
प्रधानमन्त्री दाहालले उच्च राजनीतिक छवि बोकेका मुखर्जीको राजनीतिक व्यक्तित्व र विचार अर्थपूर्ण जीवनका लागि प्रेरक हुने पनि उल्लेख गरे।
'नेपाल–भारतबीचको सम्बन्धमा सांस्कृतिक, धार्मिक र सामाजिक समानता पाइनुका साथै मौलिकतायुक्त पनि छ,' प्रधानमन्त्रीले भने, 'राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा थप व्यापकता आएको छ।'
मुखर्जीले यसअघि सन् २०१३ मा बङ्गलादेशको ढाका विश्वविद्यालय, सन् २०१४ मा भारतको कोलकात्ता विश्वविद्यालय, सन् २०१५ मा रसियन डिप्लोम्याटिक एकेडेमी, सन् २०१५ मा ब्रसेल्स स्टेट युनिभर्सिटी, सन् २०१५ मा जोर्डन विश्वविद्यालय र सोही वर्ष इजरायलको हेब्रु विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि सम्मान प्राप्त गरिसकेका छन्।
दीक्षान्त ग्रहण भाषण गर्दै भारतीय राष्ट्रपति मुखर्जीले सम्मानबाट आफू मानवसेवामा थप समर्पित हुन प्रेरणा मिलेको बताए। 'नवीन खोजबाट नै विश्वमा औद्योगिक विकासको युग प्रारम्भ भएको हो,' मुखर्जीले भने, 'मैले काठमाडौँ विश्वविद्यालयका विद्यार्थीबाट पनि त्यो काम हुने विश्वास लिएको छु। मलाई सम्मान दिएर ममाथि गरिएको मानव सेवाको अपेक्षा पनि पूरा गर्ने सङ्कल्प गर्दछु।'रासस