
काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'द विनर' युनिटले 'द विनर २' घोषणा गरेको छ।
बिहीबार फिल्म सिक्वेल घोषणा गर्दै निर्माण पक्षले फिल्मको प्री प्रोडक्सन काम सकिएको र चाँडै सुटिङका लागि फ्लोरमा जाने जनाएको छ।
बलिउड तथा हलिउड फिल्मको स्तरीयता दिने भनिएको फिल्म 'द विनर' हार्न नजान्ने एक युवकको संघर्षमा आधारित छ। फिल्मको छायांकन अस्ट्रेलिया, दुबई र नेपालमा गरिएको छ। फिल्ममा महेशमान श्रेष्ठ, पूर्व मिस नेपाल मलिना जोशी, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ, अमित गिरी लगायतका कलाकारको अभिनय छ।
हिक्मत बिष्ट निर्देशित फिल्मलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा विकास खरेल, सुबोध ठकुरी, रितेश राणा, सिर्जना शाह, रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन्।
गत साता काठमाडौंमा 'द विनर'को प्रिमियर गरिएको थियो। राजधानीको कुमारी हलमा आयोजित रेड कार्पेट प्रिमियरमा फिल्मकर्मी, रंगकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो। प्रिमियरबाट प्राप्त प्रतिक्रियाका कारण पनि आफ्नो टिम 'द विनर २' को निर्माणमा हौसिएको निर्माता विकास खरेलले बताए।