काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर र पोखरा भ्रमणका कारण शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई पटक बन्द हुने भएको छ।
राष्ट्रपति मुखर्जी पहिले काठमाडौंबाट जनकपुर जाने कार्यक्रम छ। जनकपुरबाटै पोखराको कार्यक्रममा सहभागी भएर उनी पुन: काठमाडौं फर्किनेछन्। यसपछि उनी विमानस्थलबाटै स्वदेश फर्कनेछन्। उनको उडानका कारण विमानस्थल डेढ घन्टा बन्द हुने भएको हो।
उनी जनकपुर जाने क्रममा बिहान १० बजेदेखि १०:३० सम्म विमानस्थल बन्द रहने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। उनी बिहान १० बजेको फ्लाइटमा जनकपुर जाँदैछन्। जनकपुरबाट दिउँसो २ बजे पोखरा जाने कार्यक्रम रहेको छ।
पोखराबाट काठमाडौं फर्किएलत्तै उनी विमानस्थलबाट नै भारत फर्किने कार्यक्रम छ। पोखराबाट उनी ४ बजे फर्कनेछन्। अपराह्न ४:१५ देखि ५:१५ सम्मका लागि विमानस्थल बन्द गरिने ठाकुरले जानकारी दिए।
मुखर्जी जनकपुर र पोखरा जाँदा तथा पोखराबाट काठमाडौं फर्कनका लागि बुद्ध एयरको विमान चार्टर्ड गरिएको छ।
जनकपुर विमानस्थलमा समस्या नहुने
मुखर्जी बिहान जनकपुर जानेछन्। उनी जनकपुरमा रहँदा त्यहाँको विमानस्थलमा कुनै पनि अवरोध नआउने भएको छ। जनकपुरमा सेड्युल्ड उडान नहुने भएका कारण केही पनि समस्या नआउने प्रवक्ता ठाकुरले जानकारी दिए।शुक्रबार जनकपुरमा अरु विमान कम्पनीको नियमित उडान नभएका कारण त्यहाँको हवाई सेवा प्रभावित नहुने उनको भनाइ छ।
मुखर्जी आफ्नो नेपाल भ्रमणको तेस्रो दिन शुक्रबार बिहान जनकपुर जानेछन्। जनकपुरको जानकी मन्दिरमा पूजा गरेपछि आफ्नो सम्मानमा आयोजना गरिने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
पोखरा विमानस्थल एक घन्टा प्रभावित
उनी जनकपुरबाट पोखरा जाने कार्यक्रम छ। पोखरामा हुँदा एक घन्टा त्यहाँको विमानस्थल प्रभावित हुने ठाकुरले जानकारी दिए। उनी पोखरा २ बजे पुग्नेछन्। जनकपुरबाट पोखरा पुग्ने समय र पोखराबाट काठमाडौं फर्किने समय गरी एक घन्टा पोखरा विमानस्थल प्रभावित हुने भएको हो।भारतीय राष्ट्रपति मुखर्जी पोखराबाट काठमाडौं फर्किएपछि बेलुकी भारत फर्कनेछन्।