PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

एकै पटक १२० लाइनबाट कल बाइपास गर्ने पक्राउ, २२ सय अवैध सिमकार्ड बरामद



पहिलोपोस्ट

काठमाडौं : अवैध रुपमा कल बाइपास गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले कल बाइपास गर्ने संचालक काठमाडौंको नक्साल निवासी रविराज सिंहलाई पक्राउ गरेको हो। सिंहले नेपाल टेलिकमको अप्टिकल फाइबर जडित इ वान पिआर आई प्रविधिको दुरुपयोग गरी श्रीलंकन नागरिकको मिलोमतोमा ल्यान्डलाइनबाट कल बाइपास गर्ने गरेका थिए।
 
कल बाइपास गर्नका लागि सिंहले नुवाकोटका कान्छा गुरुङको नामबाट अनलाइन बिजनेस गर्ने प्रयोजनको लागि कम्पनी नै खोलेको देखिएको छ। गत साउनमा कम्पनी दर्ता गराई काठमाडौंको पानीपोखरीमा खोलिएको कम्पनीले नेपाल टेलिकमको ल्यान्डलाइनबाट कल बाइपास गर्ने उपकरण जोडी दसैं बिदामा एकै पटक १२० लाइनबाट कल बाइपास गरेको खुलेको प्रहरीले जनाएको छ।
 
श्रीलकंन नागरिक नेपाल आई अवैध भिओआइपी जडान गरेर फर्केको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। नेपालबाट हुने कल बाइपासमा श्रीलंकन नागरिकको संलग्नता भएको यो पहिलो पटक हो। सिंह यसअघि पनि नक्कली भारुको कारोबारमा पक्राउ परेका व्यक्ति हुन्।
 
प्रहरीले अहिलेसम्म ९२ स्थानमा भिओआइपी विरुद्ध कारबाही गरिसकेको छ। अहिलेसम्म १०७ नेपाली र ३१ जना विदेशी पक्राउ गरी कानुनी दायरमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
 
पक्राउ परेका अभियुक्तविरुद्ध १२ अर्ब बराबरको बिगो दाबी गरिएको छ। कल बाइपास गर्न प्रयोग हुने २२ सय अवैध सिमकार्ड समेत प्रहरीले बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell