PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

भारतीय दूतावासले भोजमा डाकेन एमाले अध्यक्षलाई, 'निम्ता भएको भए जानुहुन्थ्यो'



पहिलोपोस्ट

काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा भारतीय दूतावासले आफ्नै कार्यालय परिसरमा बुधबार आयोजना गरेको भोजमा पूर्व प्रधानमन्त्री केपी ओली उपस्थित भएनन्।

पूर्व प्रधानमन्त्री ओलीसँगै अर्का पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि भारतीय दूतावासमा देखिएनन्। कांग्रेस सभापति शेरबहादुर देउवा लगायत मन्त्री र पूर्व मन्त्रीहरु भने दूतावासमा देखिएका थिए।  

मिडियामा यसलाई 'इस्यु' बनाइयो। दूतावास धाउनु हुन्न भन्ने मान्यताका कारण ओली निम्तो पाएर पनि नगएको र पूर्व प्रधानमन्त्रीद्वय खनाल र नेपाल विदेशमा भएकोले दूतावास नगएको समाचार मिडियामा आए। सोसल मिडियामा ओली राष्ट्रपतिले आयोजना गर्ने स्टेट ब्याङ्क्वेट (राजकीय भोज) मा पनि सहभागी नहुने चर्चा चल्यो। 

तर राति सार्वजनिक भएको स्टेट ब्याङ्क्वेटको फोटोमा भने ओली र विदेशमा भएका भनिएका खनाल उपस्थित थिए। 

ओली किन दूतावास गएनन् त? हामीले उनका पिए राजेश बज्राचार्यलाई सोध्यौँ। 

'यो किन ठूलो इस्यु बनिरहेको छ हामीलाई थाहा छैन,' उनले भने, 'उहाँलाई दूतावासको कार्यक्रममा निम्तो नै थिएन।'

उनले थपे, 'अध्यक्ष ज्युलाई मात्र हैन मलाई लाग्छ कांग्रेस सभापति देउवाज्युलाई पनि निम्तो थिएन होला। किनभने उहाँहरुसँग भारतीय राष्ट्रपतिले छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ। सबैलाई भेट्न सम्भव नभएकोले कर्टेसी मेन्टेन गर्न न त्यो कार्यक्रम गरिएको हो।'

उनले निम्तो पाएका सबै ठाउँमा ओली जाने कुरा पनि सुनाए। 

भारतीय राष्ट्रपति मुखर्जीले आफू बसेको होटल हयातमा आज विभिन्न दलका नेता भेट्दैछन्। एमाले अध्यक्ष ओली त्यसमा सहभागी हुनेछन्। त्यसैगरी आजै मधेसी दलका नेताहरुसँग पनि मुखर्जीले सामूहिक भेट गर्दैछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell