काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पशुपतिनाथ मन्दिरमा पुगी विशेष पूजाअर्चना गरेका छन्।
मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि उनले पूजा गरे। गर्भगृहबाट प्रवेश गरी धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुप र विधिपूर्वक पञ्चामृत स्नान र रुद्रीपाठसहित पशुपतिनाथको पूजा गरेका थिए।
त्यसअघि उनले सङ्कटमोचन हनुमान र नवग्रहको दर्शन गरेका थिए।
राष्ट्रपति मुखर्जीलाई पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही, सोही मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डन तथा कोषका अन्य पदाधिकारीले स्वागत गरेका थिए।
राष्ट्रपतिद्वारा विशेष पूजा सम्पन्न भएपछि मूलभट्टले फूलप्रसाद प्रदान गरे भने कोषका अध्यक्षसमेत रहेका मन्त्री शाहीले कोषका तर्फबाट राष्टपति मुखर्जीलाई स्नेहोपहार प्रदान गरे।