काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग उनी बस्दै गरेको होटल हयातमै सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चासँग आबद्ध मधेसवादी राजनीतिक दलका नेताहरुले बिहीबार भेटवार्ता गरेका छन्।
भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, मधेसवादी दलको चासोका साथै नेपालको संविधानमा देखिएको त्रुटिलाई सच्याउन गर्दै आएको आन्दोलनका बारेमा राष्ट्रपति मुखर्जीलाई जानकारी गराएका थिए।
भेटपछि नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको संविधान त्रुटिपूर्ण भएकाले त्यसलाई पूर्णता दिन आफूहरु लागिपरेको तथा त्यसमा भएका कमीकमजोरीलाई सच्याउन लामो सङ्घर्ष गर्नुपरेको जानकारी गराएको बताए। सो अवसरमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सङ्घीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालगायतका नेताहरु सहभागी थिए।
यसैबीच, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पनि राष्ट्रपति मुखर्जीसँग सोही होटलमा आजै साँझ शिष्टाचार भेट गरे। भेटका अवसरमा राष्ट्रपतिको भ्रमणबाट नेपाल र भारतबीचको सम्बन्ध अझ सुदृढ होस् भनी आफूले शुभकामना व्यक्त गरेको गच्छदारले बताए।
उनले भने, “विगतमा नेपाल र भारतबीच देखिएको चिसोपना यो भ्रमणबाट मेटिनेछन् भन्ने कुरा बताएँ।” राष्ट्रपति मुखर्जीले नेपालमा देखिएको राजनीतिलगायतका सबै समस्या सहमतिका आधारमा मिलेर समाधान होस् भनी शुभकामना व्यक्त गरेको उनले बताए।
सोही स्थानमा नेपाल परिवार दलका सांसद मिलन राजवंशीलगायतको टोलीले समेत राष्ट्रपति मुखर्जीसँग भेटघाट गरेको थियो । रासस