PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

भारतीय राष्ट्रपतिलाई क्याप्टेन रञ्जनले उडाउने, माउन्टेन फ्लाइट गराउँदै जनकपुर



उमेश पौडेल

भारतीय राष्ट्रपतिलाई क्याप्टेन रञ्जनले उडाउने, माउन्टेन फ्लाइट गराउँदै जनकपुर

काठमाडौं : तीनदिने राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी भ्रमणको अन्तिम दिन आज जनकपुर र पोखरा जाँदैछन्।जनकपुर जाँदा उनलाई बुद्ध एयरका सिनियर पाइलट रञ्जनकुमार शर्माले उडाउने भएका छन्। शर्मालाई अर्का सिनियर पाइलट सुनिल गुरुङको साथ रहनेछ।
 
बिहान १० बजेपछि बुद्ध एयरको एटिआर- ४२ जहाजबाट मुखर्जी जनकपुर जाँदैछन्। उनलाई सगरमाथा लगायत हिमाली क्षेत्रको दृश्यावलोकन गराउँदै क्याप्टेन शर्माले जनकपुर पुर्‍याउने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए।
 
मुखर्जी चढेको जहाज उडाउने शर्मा बुद्ध एयरका फ्लाइट सेफ्टी डाइरेक्टर हुन्। गुरुङ एटिआरको विशेषज्ञ पाइलट हुन्।
 
काठमाडौं विमानस्थलबाट उत्तर-पूर्वको जुगल हिमालदेखि सर्वोच्च शिखर सगरमाथासम्मको माउन्टेन फ्लाइट गराएर मुखर्जीलाई जनकपुर पुर्‍याइएने भएको हो।
 
४७ सिट क्षमताको उक्त जहाज सरकारले चार्टर्ड गरेको हो। शर्मा र गुरुङको जोडीले नै मुखर्जीलाई जनकपुरबाट पोखरा हुँदै काठमाडौं ल्याउने बुद्ध एयरका अपरेसन म्यानेजर सुवर्ण खरेलले जानकारी दिए।
 
भारतीय राष्ट्रपति मुखर्जीले यात्रा गर्ने भएपछि बुद्ध एयरको जहाजको विशेष सुरक्षा जाँच (सेफ्टी मेजरमेन्ट) गरिएको छ।
 
बिहीबार नै जहाजको सरसफाइ र सुरक्षा जाँचको सबै प्रक्रिया सकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। बिहीबार जहाजले कुनै उडान गरेन। 'राष्ट्रपति मुखर्जीले उडान गर्ने जहाजलाई रातभरि नेपाली सेनाले छुट्टै सुरक्षा दिएर राखेको थियो,' उनले भने।
 
भारतीय राष्ट्रपति मुखर्जी पोखराबाट काठमाडौं फर्किएपछि आज बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै स्वदेश फर्कनेछन्।


अन्तर्राष्ट्रिय विमानस्थल दुईपटक बन्द हुने


भारतीय राष्ट्रपति मुखर्जीको जनकपुर र पोखरा भ्रमणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दुई पटक बन्द हुने भएको छ।
 
उनी जनकपुर जाने क्रममा बिहान १० बजेदेखि १०:३० सम्म विमानस्थल बन्द रहने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। उनी बिहान १० बजेको फ्लाइटमा जनकपुर जाँदैछन्। जनकपुरबाट दिउँसो २ बजे पोखरा जाने कार्यक्रम रहेको छ।
 
पोखराबाट काठमाडौं फर्किएलत्तै उनी विमानस्थलबाट नै भारत फर्किने कार्यक्रम छ। पोखराबाट उनी ४ बजे फर्कनेछन्। अपराह्न ४:१५ देखि ५:१५ सम्मका लागि विमानस्थल बन्द गरिने ठाकुरले जानकारी दिए।
 

पोखरा विमानस्थल एक घन्टा प्रभावित

मुखर्जी जनकपुरबाट पोखरा जाने कार्यक्रम छ। पोखरामा हुँदा एक घन्टा त्यहाँको विमानस्थल प्रभावित हुने ठाकुरले जानकारी दिए। उनी पोखरा २ बजे पुग्नेछन्। जनकपुरबाट पोखरा पुग्ने समय र पोखराबाट काठमाडौं फर्किने समय गरी एक घन्टा पोखरा विमानस्थल प्रभावित हुने भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell