PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

जनकपुरमा यस्तो रहनेछ भारतीय राष्ट्रपतिको कार्यक्रम



पहिलोपोस्ट

जनकपुरमा यस्तो रहनेछ भारतीय राष्ट्रपतिको कार्यक्रम

धनुषा : भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज जनकपुर आउँदैछन्। यति बेला मुखर्जीको स्वागतका लागि यहाँका बासिन्दा तयारीमा छन्।
 
राष्ट्रपतिको स्वागतका लागि जनकपुरधाम झकिझकाउ बनाइएको छ। जनकपुरको मुख्य सडकमा स्वागतद्वार र नेपाल-भारतको राष्ट्रिय झन्डाले सजाइएको छ। जानकी मन्दिरलाई सरसफाइ गरी नयाँ रङ्गरोगन गरिएको छ।
 
जनकपुर विमानस्थलदेखि तिरहुतिया गाछीसम्ममा ९१ वटा स्वागतद्वार निर्माण गरिएको छ। राष्ट्रपति मुखर्जीको जनकपुरधाम भ्रमणका लागि नेपाली सेनाको विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले बताए।
उनलाई स्वागत गर्न जनकपुरका २५ वटा निजी विद्यालयका चार हजारभन्दा बढी विद्यार्थी सडकमा नेपाल-भारतको झन्डासहित उत्रिने तयारी गरिएको प्याब्सन धनुषाका उपाध्यक्ष विश्वलाल सिंहले जानकारी दिए।
 
राष्ट्रपति मुखर्जी आज बिहान १० बजे जनकपुर आउने कार्यक्रम छ। विमानस्थलबाट उनी सिधै जानकीमन्दिर पुगी करिब २० मिनेट पूजाअर्चना गर्नेछन्।  त्यहाँबाट तिरहुतिया गाछी जानेछन्। जनकपुर उपमहानगरपालिकाका तर्फबाट कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले उनलाई नागरिक अभिनन्दन गर्नुका साथै नगरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम छ।
 
मुखर्जीको आगमनका क्रममा शान्तिसुरक्षाको व्यवस्था कडा पारिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा अनुसन्धान विभागका कर्मचारी चोकचोकमा खटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell