
पोखरा : नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन कात्तिक २७, २८ र २९ गते पोखरामा हुने भएको छ। नेपाल तरुण दलका अध्यक्ष उदयशमशेर राणाले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।
यसअघि दुईदुई पटक महाधिवेशन सरेको थियो। अब भने महाधिवेशनका लागि आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेकोले तोकिएकै समयमा महाधिवेशन सम्पन्न हुने राणाको भनाइ छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार महाधिवेशनको तयारीबारे स्थलगत जानकारी लिन पार्टीका केन्द्रीय सदस्य एवम् निर्देशक समितिका सदस्य सुरेन्द्र पाण्डे, तरुण दलका अध्यक्ष राणासहितको टोलीले पोखरा पुगी स्थलगत जानकारी लिएको छ।
२७ गते पोखराको चिप्लेढुङ्गामा पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन्। २८ गते महाधिवेशनको बन्दसत्र पोखरा सभागृहमा सञ्चालन हुनेछ भने २९ गते निर्वाचन कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका छ।
महाधिवेशनमा झन्डै ७० जिल्लाका एक हजार तीन सय प्रतिनिधि सहभागी हुने अध्यक्ष राणाले जानकारी दिए।