PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

धेरै संरचना भत्काउनुपर्ने भएपछि जोगवनी-धरान सडक अब ४ लेनको मात्र बन्ने



पहिलोपोस्ट

धेरै संरचना भत्काउनुपर्ने भएपछि जोगवनी-धरान सडक अब ४ लेनको मात्र बन्ने

  • गोपालप्रसाद पोखरेल
पथरी (मोरङ) : विराटनगरको जोगवनी नाकादेखि धरानसम्मको कुल ५० किलोमिटर सडक चार लेनको निर्माण हुने भएको छ।
 
दुहवी र इटहरीबजार क्षेत्रका धेरै घर संरचनाहरु सडक फराकिलो बनाउने क्रममा भत्काउनुपर्ने देखिएपछि प्रस्तावित ६ लेन सडकलाई घटाएर चार लेनमा निर्माण गर्न लागिएको हो। सडक आयोजना प्रमुख दीपक भट्टराईले सरकारको निर्णय आउन अझै बाँकी रहे पनि स्थानीयवासीको असहयोगले ६ लेन सडक निर्माण हुने सम्भावना न्युन रहेको बताए। सो सडकलाई ६ लेनको बनाउने प्रस्ताव गरिए पनि विभिन्न कारणले चार लेन मात्रै बन्ने भएको हो।
 
सडक विस्तार हुँदा दुहवीका पक्की र कच्ची गरी एक सय ७७ घर र इटहरीको मूलचोकबाट दक्षिणतर्फका केही घर भत्काउनुपर्छ। यी दुवै स्थानमा ठूलाठूला पक्की घर रहेका छन्। योजनाअनुसार ६ लेन सडक विस्तार गर्दा आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने योजना बनाएर काम अघि बढाए पनि जग्गा अपुग भएपछि डिजाइन परिवर्तन गरेर पछि केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर मात्र विस्तार गर्ने कार्य गरिरहेकाले अब सडक ६ लेनको होइन चार लेनमा मात्र सीमित हुनेमा कुनै शङ्का छैन।
 
मुलुककै व्यापार विस्तार तथा भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि अहिले जोगवनीबाट विराटनगर हुँदै धरानसम्म ६ लेन सडक विस्तार गर्ने सरकारको योजना थियो। भारतसँग सीमा जोडिएका सबै नाकाका सडकलाई ६ लेनमा विस्तार गर्ने सरकारको लक्ष्य पनि रहेको छ।
 
सडकमा दायाँबायाँ तीनतीन लेन हुने र मध्य भागमा दुईतिर सडक विभाजित गर्ने क्रङ्किटका डिभाइडरको संरचनासँगै सडकको दुवैतिर बिरुवा रोपेर हरियाली पारिने योजना रहेको छ।
 
सडक आयोजना प्रमुख दीपक भट्टराईका अनुसार दुहवीबजार क्षेत्रमा अहिले भएको सडकको जग्गाबाहेक अरू दुई बिघा जग्गा चाहिन्छ र त्यहाँ बनेका घर पनि भत्काउनु पर्ने भएकाले जग्गा उपलब्ध गराइदिन भनी सडक विभागलाई पत्रचार गरिसकेको छ।
 
उनका अनुसार बजार क्षेत्रको केही जग्गा नगरपालिकाको समेत स्वामित्वमा रहेको र कतिपय जग्गा व्यक्तिको व्यक्तिगत रहेकाले घरजग्गाभन्दा घर भत्काउँदा ठूलो क्षति हुने हुँदा यसबारे सरकारको निर्णय नआएकाले दुहवीबजार क्षेत्रमा ठेक्का लगाउन बाँकी छ। सरकारले घरजग्गाको मुआब्जा दिने वा अन्य कुनै वैकल्पिक उपाय गर्ने त्यसबारे निर्णय आएपछि मात्र सो क्षेत्रको सडक निर्माणसम्बन्धी ठेक्का लगाउन सकिने धारणा आयोजना प्रमुख भट्टराइको छ।
 
दुहबीदेखि इटहरी र विराटनगरबजार क्षेत्रको सडक निर्माणका लागि यस वर्ष रु दुई अर्ब २३ करोडमा ठेक्का लागेको हो। यसअघि विराटनगरको रानीदेखि १५ किलोमिटर सडक रु दुई अर्ब ८२ करोडमा ठेक्का लागेको थियो।
 
विराटनगरदेखि इटहरीसम्मको २९ किलोमिटर सडक ठेक्का लागिसकेको छ। ठेक्का लागिसकेको सडकमध्ये २०६९/०७० देखि अघिल्लो वर्षसम्म लागेको १५ किलोमिटर सडकमध्ये सात वटा प्याकेजमा ठेक्का लागेको थियो। अघिल्लो वर्षसम्म ठेक्का लागेको १५ किलोमिटरको सातवटा प्याकेजमध्ये तीनवटा प्याकेजको ६० प्रतिशत र चारवटाको २० प्रतिशत काम सकिएको प्रमुख भट्टराईको भनाइ छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell