इनरुवा : सुनसरीका ५० भन्दा बढी विद्यालयका प्रधानाध्यापक कम योग्यताका रहेको स्थानीयवासीले गुनासो गरेका छन्।
जिल्लाका ५० भन्दा बढी माध्यमिक विद्यालयमा प्रावि र निमावि तहका शिक्षकले प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरिरहेका कारण सो विद्यालयका प्रअ अयोग्य रहेको स्थानीयवासीको गुनासो छ। शिक्षा क्षेत्रको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेलामा यहाँका अधिकांश प्रअ नै अयोग्य रहेकाले शैक्षिक गुणस्तर खस्केको शिक्षा क्षेत्रका सरोकारवालाले बताएका छन्।
शिक्षाजस्तो संवेदनशील र देश विकासको मेरुदण्ड मानिएको क्षेत्रमा काम गर्ने कर्मचारी नै अयोग्य भएपछि देशको अवस्था कस्तो हुन्छ होला भन्ने कुरा सहजै अनुमान गर्न सकिने उनीहरु बताउँछन्।
शिक्षा मन्त्रालयले २०७० को साउनमा नै माध्यमिक तहको प्रअको योग्यता स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने निर्देशन जारी गरेको भए पनि सुनसरीमा अधिकांश प्रअ कम योग्यताका छन्।
क्षेत्रीय शिक्षा निर्देशानालय, धनकुटाले दुई वर्षअगाडि नै एक वर्षभित्र योग्यता पुगेका प्रअलाई जिम्मेवारी दिने र अयोग्यलाई व्यवस्थापन गर्ने भनिएपनि त्यसको कार्यान्वयन नभएको कारण अयोग्य प्रअको जमात बढ्दै गएको स्थानीयवासी बोधनारायण मेहताले गुनासो पोखे। सुनसरीको राष्ट्रिय मावि लौकहीका प्रअ धनिलाल यादव, राष्ट्रिय मावि सोभनपुरका देवनारायण साह लगायतका ५० भन्दा बढी विद्यालयका प्रअ कम योग्यताका रहेका छन्।
कतिपय विद्यालयका प्रअ प्रावि र निमावि तहका छन् भने कति अस्थायी, राहत कोटामा कार्यरत र स्नातक तहसमेत उत्तीर्ण नगरेका रहेको जिल्ला शिक्षा कार्यालय सुनसरीले जनाएको छ।