- रमेश गिरी
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना इकाई कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि अनुदान सम्झौता गर्न गाउँगाउँमा सूचना जारी गरिएको छ।
भूकम्पीय आवास पुनःनिर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालाले लाभग्राहीको अन्तिम नामावली जिल्लाको ६ वटै नगरपालिकामार्फत वडा कार्यालयमा बिहीबार टाँस गरिएको बताए।
'लाभग्राहीको अन्तिम नामावली बिहीबार सबै नगरपालिकामार्फत वडा कार्यालयमा टाँस गरिएको छ,' उनले भने, 'अब सात दिनपछि अनुदान सम्झौता सुरु हुन्छ।' लाभग्राहीको नामसहितको सूचना टाँस गरिएकोमा गैरभूकम्पप्रभावित वा दुईवटा घर भएका भूकम्प प्रभावितको नाम परेको भए उजुरी दिन र वास्तविक भूकम्प प्रभावितको नाम नपरेको भए गुनासोको फाराम भर्न उनले सबैलाई आग्रह गरे।
कात्तिक २५ गतेदेखि नामावली भएका र उजुरी वा दाबी विरोध नपरेका भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिने समितिका उपसंयोजक दीपक पाठकले बताए। अनुदान सम्झौता भएको पाँच दिनपछि नगरपालिकाले तोकेको बैंकबाट अनुदान रकम लिन सकिने व्यबस्था गरेको छ। दोस्रो किस्ता वितरण गर्नुअघि नै प्राधिकरणको संयन्त्रले मालापोत कार्यालयमार्फत र गाउँगाउँमा पुनः सर्वेक्षण गर्दा दुईवटा घर भएका वा गैरभूकम्प प्रभावितले अनुदान रकम लिएको पाइएमा त्यस्ता व्यक्तिलाई कारबाही गरी जरिवानासहित रकम फिर्ता गराइने उनले बताए।
भक्तपुरमा अहिलेसम्म २४ हजार ९ सय २ भूकम्प प्रभावितको पहिचान भएको समितिका उपसंयोजक पाठकले जानकारी दिए। मध्यपुरथिमि नगरपालिका–१, २, ३, ५, ६, ७, ९ र १० वडाबाट नामावली आउन बाँकी भए पनि अन्य पाँच नगरपालिकाबाट भने अन्तिम नामावली आइसकेको छ।
यसअनुसार भक्तपुर नगरपालिकामा ६ हजार ८ सय ८८, नगरकोट नगरपालिकामा ४ हजार ९ सय १९, अनन्तलिङ्गेश्वर नगरपालिकामा ३ हजार ५४, चाँगु नगरपालिकामा ५ हजार २ सय ८४, सूर्यविनायक नगरपालिकामा ३ हजार ६ सय १७ र मध्यपुरथिमि नगरपालिकामा १ हजार १ सय ४० जना लाभग्राहीको पहिचान भएको छ।
अनुदान लिन भूकम्प प्रभावित लाभग्राहीले आफ्नो वडा कार्यालयमा नागरिकताको सक्कल, नागरिकताको प्रतिलिपि तीन थान, लालपुर्जाको प्रतिलिपि तीन थान, तस्बिर तीन थान र भूकम्प प्रभावित भएको परिचयपत्रको प्रतिलिपि तीन थान साथमा लैजानुपर्नेछ।रासस