PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पानीजहाज कम्पनी मैर्स्कले नोभेम्बर २० देखि वीरगन्जबाटै कन्टेनर डेलिभरी लिने



राधेश्याम पटेल

पानीजहाज कम्पनी मैर्स्कले नोभेम्बर २० देखि वीरगन्जबाटै कन्टेनर डेलिभरी लिने

वीरगन्ज : अन्तर्राष्ट्रिय शिपिङ लाइन (पानी जहाज) कम्पनी मैर्स्क लाइनले अगामी २० नोभेम्बरदेखि सिर्सिया सुक्खा बन्दरगाहमै आफ्ना कन्टेनर डेलिभरी लिने भएको छ।
 
दुई वर्षअघिदेखि बन्दरगाहबाट आयात-निर्यात गर्ने नेपाली व्यापारीलाई सहजताका लागि अनौपचारिक रुपमा यस्तो सेवा दिने अभ्यास गरिआएकोमा अगामी दिनमा कार्यालय शाखा नै सञ्चालनमा ल्याई डेलिभरी लिने कार्य सुरु गर्न लागिएको हो।
 
मैर्स्क यो बन्दरगाहमा कन्टेनर कारोबार रहेको सर्वाधिक ठूलो अन्तर्राष्ट्रिय शिपिङ डेनिस कम्पनी हो। यहाँ तेस्रो मुलुकबाट विभिन्न मालवस्तु बोकेर आउने कुल कन्टेनरमध्ये झन्डै आधा यसै कम्पनीको हुने गरेको छ।
 
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अशोक टेमानीले मैर्स्कले हाललाई बन्दरगाहसम्म प्रतिकन्टेनर भाडा ८५ हजार रुपैयाँ निर्धारण गरेको बताए। मैर्स्कले काठमाडौंमा आफ्नो कार्यालय स्थापना गरिसकेको र केही दिनभित्रै वीरगन्जमा पनि कार्यालय सञ्चालन गर्ने टेमानीले जानकारी दिए।
 
विगतमा नेपाल भित्रिएका मालवाहक कन्टेनरलाई खाली गरेपछि नेपाली आयातकर्ताले कोलकाता बन्दरगाहमै शिपी कम्पनीहरुलाई फिर्ता दिनुपर्थ्यो। यसो गर्दा शिपिङ कम्पनीहरुले कन्टेनर फिर्ता दिनका लागि तोक्ने १४ देखि २१ दिनभित्रको अवधि अर्थात् ‘कन्टेनर फ्रि टाइम’भित्र कन्टेनर फिर्ता दिन नसक्दा ठूलो रकम विलम्ब शुल्क शिपी¨कम्पनीहरुलाई बुझाउनुपर्ने बाध्यता थियो।
 
एउटा शिपिङ कम्पनीले मात्र पनि यस्तो सुविधा दिँदा सुक्खा बन्दरगाह हुँदै आयात-निर्यात कारोबार गर्ने थुप्रै आयातकर्ताको ठूलो रकम जोगिएको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीपकुमार केडिया बताउँछन्। अन्य कम्पनीले पनि यस्तो सुविधा दिए नेपाली आयातकर्ताहरुलाई ठूलो राहत हुने उनको भनाइ छ।
 
मैर्स्कबाहेक सिर्सिया सुक्‍खा बन्दरगाहमा एपिएल, समुन्द्रा लाइन्स, ओसिएल, ओओसिएल, ओपल, कस्को, जिम लाइन आदि कम्पनीले पनि कन्टेनर सेवा दिँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell