PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​युरोपा लिग : फेनरवाचेसँग हार्‍यो म्यान युनाइटेड, इन्टर साउदह्याम्पटनसँग पराजित



पहिलोपोस्ट

​युरोपा लिग : फेनरवाचेसँग हार्‍यो म्यान युनाइटेड, इन्टर साउदह्याम्पटनसँग पराजित

इंगलिस क्लब म्यानचेष्टर युनाइटेड युरोपा लिगमा फेरि हार्दा अर्को इंगलिस क्लब साउदह्याम्पटनले जित हासिल गर्दै नकआउटको सम्भावना कायम राखेको छ।

गएराति भएको खेलमा म्यान युनाइटेड फेनरवाचेसँग उसैको मैदानमा २-१ ले पराजित भएको हो। यसअघि घरेलु मैदान ओल्ड ट्राफोर्ड टर्किस क्लबलाई ४-१ ले हराएको युनाइटेड फेनरवाचेको मैदानमा भने फिक्का देखियो। 

घरेलु मैदानमा फेनरवाचेलाई जिताउन माउसा सोव र जेरेमेन लेन्सले १/१ गोल गरे। युनाइटेडका लागि खेलको अन्त्यतिर कप्तान वायन रुनीले एक गोल फर्काएपनि हार टार्न पर्याप्त रहेन।

समूह चरणको दोस्रो हारपछि युनाइटेड ६ अंकसहित समूह ए को तेस्रो स्थानमा झरेको छ। समान ७ अंक रहेको फेयेनुर्ड र फेनरवाचे पहिलो र दोस्रो स्थानमा छ। जोर्‌यासँग १-१ गोलको बराबरी खेलेको डच क्लब फेयेनुर्ड गोल अन्तरमा शीर्ष स्थानमा रहेको हो।

समूह चरणको पहिलो खेलमा युनाइटेड फेयेनुर्डसँग हारेको थियो। 

युनाइटेड पराजित भएकै दिन समूह के को खेलमा साउदह्याम्पटनले भने इटालियन क्लब इन्टर मिलानलाई २-१ ले पराजित गरेको छ। १ गोलको अग्रता लिएर पनि इन्टर पराजित भएको हो। कप्तान माउरो इकार्डीले इन्टरलाई पहिले अग्रता दिलाएका थिए। 

तर दोस्रो हाफमा साउदह्याम्पटनले उत्कृष्ट कमब्याक गर्यो। डुसान टाडिकले पेनालटीमा गोल गर्न असफल भएपनि साउदह्याम्टनका लागि भिर्जिल भान डिकले बराबरी गोल गरे। इन्टरका युतो नागातोमाले आत्मघाती गोल गरेपछि साउदह्याम्पटन २-१ ले विजयी भएको हो।

यसै समूहको अर्को खेलमा स्पार्टा प्रागले हापोल विर सेभालाई २-० ले पराजित गरेको छ। 

जितसँगै ९ अंक जोडेको प्राग समूहको शीर्ष स्थानमा छ भने ७ अंक जोडेको साउदह्याम्पटन दोस्रो स्थानमा छ। हापोलको ४ तथा इन्टरको ३ अंक रहेको छ।

इन्टर हारे पनि इटलीका अन्य दुई क्लब रोमा र फियोरेन्टिनाले शानदार जित हात पारेका छन्।
 
समूह इ को खेलमा रोमाले अष्ट्रियन विएनलाई ४-२ ले हरायो। रोमाको जितमा एडेन जेरोले २ तथा ड्यानिएल डे रोसी राड्दा नाइङ्गोलनले १/१ गोल गरे। 

जितपछि ८ अंकसहित रोमा समूह ई को शीर्ष स्थानमा छ। पराजित वियन ५ अंक सहित दोस्रो स्थानमा छ। 

समूह जीको खेलमा फियारेन्टिनाले स्लोभा लिभरेकलाई ३-० ले हरायो। फियोरेन्टिनाको जितमा जोसिप इलिसिस, निकोला कालिनिक र सेबास्टिन क्रिस्टोफोरोले १/१ गोल गरे।

जितपछि ४ खेलकाट १० अंक जोडेको फियोरेन्टिना समूहको शीर्ष स्थानमा छ र नकआउट चरण नजिक पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell