
पोखरा : राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी केही बेरमै पोखरा आउँदैछन्।
मध्याह्न १२:४५ बजे पोखरा विमानस्थलमा आइपुग्ने तालिका छ। पोखरा विमानस्थलमा उत्रिएपछि उनलाई अतिविशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल लगायतले स्वागत गर्ने कार्यक्रम छ।
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालका अनुसार पोखरा भ्रमणलाई भव्यरुपमा सफल बनाउनका लागि सम्पूर्ण तयारी सकिएको छ।
विमानस्थलदेखि केही समय आराम गर्ने विरौटास्थित पोखरा ग्रान्ड होटलसम्म सर्वसाधारणले मुखर्जीलाई स्वागत गर्नेछन्। मुखर्जीले दिउँसो ३ बजे भारतीय पेन्सन क्याम्पमा सम्बोधन गर्ने भएका छन्।
ग्रान्ड होटेलसम्मका बाटोमा स्वागतद्वार निर्माण र बाटोको दाँयाबाँया बिजुली पोलमा दुवै देशका राष्ट्रिय झन्डा सजाइएको छ। सडकलाई सफासुग्घर र चिटिक्क बनाइएको छ।
राष्ट्रपतिको भ्रमणका कारण पोखरा विमानस्थलमा बिहान १० बजेपछिका सबै उडान रद्द गरिएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए।
अल्ट्रालाइट उडानका साथै सराङकोटबाट हुने प्याराग्लाइडिङ पनि पूर्ण रुपमा बन्द भएको पौडेलले बताएका छन्। फोटो : रासस