फ्राइडे रिलिजमा यसपाला एकमात्र नेपाली फिल्म परेको छ। तीन साता अघि स्पेसल सो र एक साता अघि प्रिमियर सो गरेको फिल्म 'द विनर' आजबाट प्रदर्शनमा आएको हो। यो हप्ता अन्य नेपाली फिल्म रिलिज नभए पनि मल्टिप्लेक्समा छक्का पञ्जा र सिंगल थियटरमा राधाको वर्चस्व कायम छ।
हिक्मत बिष्ट निर्देशित फिल्म 'द विनर' डायमण्ड स्टार फिल्मसको ब्यानरमा विकास खरेल, सुवोध ठकुरी, रितेश राणा, सिर्जना शाह, रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका छन्। फिल्ममा महेशमान श्रेष्ठ, पूर्व मिस नेपाल मलिना जोशी, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ, अमित गिरी लगायतका कलाकारको अभिनय छ।
अष्ट्रेलिया, नेपाल र दुबईमा खिचिएको फिल्म विनरलाई बलिउड र हलिउड स्तरको भन्दै प्रचार गरिएको छ। फिल्मले यो साता बलिउड र हलिउडकै फिल्महरुसँग थियटरमा प्रतिस्पर्धा गर्नपर्ने देखिन्छ।
बलिउड तर्फ गत साता प्रदर्शित 'ए दिल हे मुस्किल' र 'शिवाय' पर्दामा टिकिरहेका छन्। हिन्दी कुनै पनि फिल्म नेपालमा रिलिज भएनन्।
हलिउडतर्फ भने दुई फिल्म 'इन्फर्नो' र 'डक्टर स्ट्रेन्ज' लाग्दैछन्। मल्टिप्लेक्समा द विनरले यि दुई न्यु रिलिजसँग टक्कर गर्नु पर्नेछ।
स्कट डेरिक्सन निर्देशित सुपर हिरोको कथा बोकेको डक्टर स्ट्रेन्जमा बेनेडिक्ट कम्बरब्याचको मुख्य अभिनय रहेको छ। फिल्मको विभिन्न प्लटमा काठमाडौंको पनि विभिन्न दृश्य देख्न सकिन्छ। त्यस्तै रोन होवार्ड निर्देशित 'इन्फर्नो'मा टम हंक्सको मुख्य अभिनय रहेको छ।