
जनकपुरधाम : प्राचीन मिथिलाको राजधानी जनकपुर आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले यहाँको जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन्।
उनी नेपालको तीनदिने राजकीय भ्रमणको अन्तिम दिन जनकपुर आएका हुन्। यहाँ भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन्। यसअघि राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले पनि जानकी मन्दिरमा पूजा गरेका थिए।
मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित स्वर्णमयी जानकीजी र भगवान रामका मूर्तिको शास्त्रसम्मत विधिले विशष पूजा गरे।
यसअघि उनलाई जानकी मन्दिरका महन्त रामतपेश्वर दासले वैदिक र मैथिल संस्कृति अनुसार स्वागत गरेका थिए।
मुगल, हिन्दु र मैथिल वास्तुशैलीको अनुपम सङ्गमबाट बनेको मन्दिर वास्तु कलाकारिताको विलक्षण सम्पदा मानिन्छ। नौलखा, जानकी भवन, सीसमहल र नेपालको ताजमहल भनेर यो मन्दिर प्रख्यात छ। मन्दिर ४९ हजार ५५५ वर्गफिटमा फैलिएको र ५० फिट अग्लो छ। यसमा ६० वटा कोठा छन्।
मन्दिरको निर्माण भारतका ओरछा नरेश टिकमगढका महाराजा प्रतापसिंहकी पत्नी वृषभान कुँवरिले पुत्र प्राप्तिको खुसियालीमा १९६७ माघ २८ मा निर्माण गराएकी थिइन्। यो मन्दिर बनाउन रु १५ लाख खर्च र १२ वर्ष लागेको बताइन्छ।