
विश्व अल्ट्रा रेसमा चर्चित नेपाली अल्ट्रा धावक मीरा राई 'एड्भेन्चरस अफ दि इअर' अवार्डको मनोनयनमा परेकी छिन्।
नेशनल जियोग्राफीले हरेक वर्ष प्रदान गर्दै आएको उक्त अवार्डमा मीरा अन्य ९ जनासँगै मनोनयनमा परेकी हुन्। विश्वभरका साहसिक खेलसँग आबद्ध १० जनालाई समेट्दै नेशनल जियोग्राफीले एड्भेन्चरस अवार्डको लागि सूची सार्वजनिक गरेको हो।
नेपालको पूर्वी क्षेत्र भोजपुरमा जन्मेकी मीरा राई तत्कालीन नेकपा माओवादीको लडाकु थिइन्। तर सेनामा अयोग्य ठहरिएपछि उनको बाटो मोडियो। यसपछि उनी अल्ट्रा धावक बनिन्।
कराँते प्रशिक्षक ध्रुवविक्रम मल्लमार्फत उनले आफ्नो नयाँ गन्तव्यलाई अगाडि बढाइन्।
अल्ट्रा रनर बनेपछि पछिल्लो दुई वर्षमा मीराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा कमाउनुका साथै निकै ठूलो सफलता समेत हासिल गरेकी छिन्। सन् २०१६ मा इटलीमा भएको स्काइरनिङ अल्ट्रा रेसमा दोस्रो स्थान हासिल गरेकी मीरा अल्ट्रा रनरको विश्व वरीयतामा दोस्रो स्थानसम्म पुगिन्।
मीरासँगै अन्य ९ साहसिक खेलका खेलाडीलाई नेशनल जियोग्राफीले आफ्नो वेबसाइटमा अन्तिम १० को सूचीमा राखेको छ। त्यहाँ गएर मीरालाई भोट प्रदान गर्न सकिनेछ। नोभेम्बर ३ देखि नै सुरु भएको भोटिङ डिसेम्बर १६ सम्म कायम रहनेछ। विश्वभरबाट गरिने भोटका आधारमा आगामी वर्षको जनवरीमा विजेताको घोषणा गरिनेछ।
मीरासँगै अन्तिम १० मा परेका साहसिक खेलाडीहरुमा केभ ड्राइभर क्रिजिस्तोफ स्टारवान्स्की, कायकर स्मिथ ली, माउन्टेनर कोलिन हाले, ओसियन एडभोकट शानन स्वीट्जर, प्याराग्लाइडर एन्टोली जेरार्ड, पार्क प्रोटेस्टर पिटर म्याकब्राइड र केभिन फेडार्को, वाइल्डरनेस डिफेण्डर क्रिस्टिन म्याडिभिट तोम्प्कीन र सेलेस्टियल सर्कुमनेभिगेटर होकुले र उनको टिम रहेका छन्।