काठमाडौं : सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व आजदेखि सुरु भएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा ब्रतालुले आज स्नान गरी चोखो खाएर बसिन्छ। यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ। चतुर्थीको कर्मलाई ‘अरबाइन वा अरबा’ भनिन्छ।
मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्छन्। विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ पछि काठमाडौँ लगायत पहाडमा पनि मनाउन थालिएको हो।
२०४६ सालदेखि नै सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थालेको छ। २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ यो पर्व मनाउन थालियो।
यसअघिदेखि नै बागमती र विष्णुमती नदीकिनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो। कात्तिक शुक्ल पञ्चमीका दिनमा निर्जल उपवास बस्ने गरिन्छ। यस दिन बेलुकी घरमा खीर बनाइ चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ। यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका निलेन्द्र बर्माले बताए।
'षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ र रोटी सूर्य एवम् छठी मातालाई चढाउने गरिन्छ, रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ,' उनले भने। षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ। साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ। डुब्न लागेका सूर्यलाई अर्घ्य दिई प्रणाम गरिन्छ।
अर्घ्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेबाटै प्रतीक्षा गरिन्छ। उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ। यसरी घाटमा गरिने पूजालाई ‘भिन्सरघाट’ भनिन्छ।
बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो। सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ। सूर्यको दर्शन गर्दा भक्तजन लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्यदर्शन गर्ने विधि रहेको रमाकान्त यादव बताउँछन्।
कार्तिक शुक्लपक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए।
सूर्यपूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवम् अविवाहिताले सुयोग्य वरबधु प्राप्तिको कामना गर्छन्। सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ।
यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आएका राजेन्द्र सिंह बताउँछन्।
सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ। महाभारतकालमा द्रौपदीसहित पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। पाण्डव विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको एकथरी मत छ।
सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठव्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको अर्काथरीको भनाइ छ।रासस