काठमाडौं : एएफसी सोलिडारिटी कप अन्तर्गत समूहको पहिलो खेलमा नेपालले भोलि टिमोर लेस्टेसँग खेल्दैछ।
नेपालले शनिबार मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा लेस्टेसँग पहिलो खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
समूह ए मा तीन टोलीमा रहेको र टिमोर लेस्टेले पहिलो खेलमा ब्रुनाईसँग हारिसकेको कारण नेपालले पहिलो खेल जितेमा सिधै सेमिफाइनल प्रवेश गर्नेछ। तर नेपाली टिमका प्रशिक्षक गोतोकु कोजीले टिमोर लेस्टेलाई कमजोर प्रतिद्वन्द्वी नमान्ने बताएका छन्।
'पानीले भिजेको मैदानमा ब्रुनाई विरुद्धको पहिलो खेल लेस्टेको लागि कठिन भएकोले फराकिलो अन्तरले हारे पनि हामी लेस्टेलाई कमजोर रुपमा हेर्नेछैनौं,' कोजीले खेल हुनु अघिल्लो दिन भने।
'पानीका कारण हामीले उनीहरुको रियल गेम हेर्न पाएनौ, त्यसैले उनीहरुको नतिजाले हामीलाई असर गर्नेछैन,' उनले भने, 'हामीले प्रदर्शनमा फोकस गर्नुपर्नेछ। दुई वटै खेल जित्नुपर्नेछ र विनिङ ह्याविट बनाउनुपर्नेछ।'
प्रतियोगिताको उद्घाटन खेलमा लेस्टे ब्रुनाईसँग ४-० ले पराजित भएको थियो।
'कुचिङ आएपछि हामीले विभिन्न कन्डिसनमा ट्रेनिङमा समय बितायौं, जसले गर्दा विभिन्न अवस्थासँग परिचित भएका छौं,' कोजीले भने, 'हामीले यहाँ न्याचुरल ग्राउण्डमा ट्रेनिङ गर्यौं र फ्लडलाइटमा पनि ट्रेनिङ गर्नेछौं।'
'म्याच डे'को दिन मौसम र पिचको अवस्था हेरेर आफ्नो स्ट्रटेजी तयार हुने उनको भनाइ छ। मौसमको अवस्थाअनुसार आफ्ना खेलाडीलाई कसरी खेलाउने भनेर योजना बनाउने उनले बताए।
नेपाली टिमका कप्तान अनिल गुरुङको भनाइ पनि कोजीजस्तै छ।
'लेस्टेको पहिलो म्याच हेरेपछि उनीहरुले प्राविधिक र शारीरिक रुपमा धेरै सुधार गरेको पायौं। पानी भएको यहाँको मैदानमा शक्ति र शारीरिक गेम खेल्नुपर्छ,' उनले भने, 'हामीसँग आफ्नै मैदानमा खेलेको अनुभव पनि छ। यस्तै युवा खेलाडीहरुको समिश्रण रहेकोले हामीले खेल कन्ट्रोल गर्न सक्छौं।'
लेस्टेका प्रशिक्षक फाविया दा शिल्भा भने मौसमको बारेमा चिन्तित छन् र भोलिको खेलमा पानी नपरोस् भन्ने चाहन्छन्। शिल्भाले मैदानको अवस्थाका कारण आफ्ना युवा खेलाडीहरुले नेचुरल खेल देखाउन नपाएको बताए।
'ब्रुनाईसँग हामी लामो बल खेल्न बाध्य भयौं, जुन हाम्रो खेल्ने शैली होइन,' उनले व्यावसायिक फुटलबल खेल्ने गरेको बताए।
'हामीलाई थाहा छ नेपालसँगको खेल कठिन हुनेछ। प्रतियोगितामा कायम रहनुछ भने जित्नका लागि खेल्न तयार छौं,' उनी भन्छन्, 'नेपाललाई सम्मान गर्दै हामी हाम्रो खेलमा लाग्नेछौं र नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछौं।'
रन्जित धिमालले ह्याम्सस्ट्रिङ स्ट्रेन र रन्जन विष्टको फ्लु बाहेक नेपाली टीममा फिटनेसको समस्या छैन। यी दुई खेलाडीलाई शनिबारको खेलमा रेस्ट दिने सम्भावना छ।
नेपाल र लेस्टेबीच अहिलेसम्म भएको दुवै खेलमा नेपाल विजयी भएको छ। दुई खेलमा नेपालले कुल ७ गोल गरेको छ भने एक गोल मात्र बेहोरेको छ।
नेपाल र टिमोर लेस्टेबीचको खेल नेपाली समयअनुसार शनिबार साँझ सवा ५ बजे हुनेछ। खेल एएफसीको युट्युब च्यानलमा लाइभ ब्रोडकास्ट हुनेछ।