चितवन : जिल्ला कारागार भरतपुरमा एक कैदीले आत्महत्या गरेका छन्।
एक महिलाको हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका धादिङ बुम्दी गाविसका २६ वर्षीय हेमबहादुर थापाले कारागारभित्रको शौचालयमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख वसन्त कुँवरले जानकारी दिए।
कारागारको कैदीबन्दी कक्षमा नै मुढा बुन्ने डोरीको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीको दाबी छ। दुई महिनाअघि जिल्लाको पोखरा बसपार्कस्थित होटल कलशमा प्रेमिकाको हत्या गरेको अभियोगमा उनी कारागार चलान भएका थिए।
बिहान ८ बजेतिर ख ब्लकबाट क ब्लकको ट्वाइलेटमा गई आत्महत्या गरेको प्रहरीले बताएको छ। मृतकलाई पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा लगिएको छ। उनी लामो समयदेखि मानसिक तनावमा रहे पनि आत्महत्याको कारण खुल्न नसकेको कुँवरले बताए।