
जर्मनी राष्ट्रिय फुटबल टिमका पूर्व गोलरक्षक टीम वाइजले वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट 'डब्ल्युडब्ल्युई'मा डेब्यु गरेका छन्।
बिहीबार जर्मनीको म्युनिखमै भएको रेस्लिङबाट उनले डेब्यु गरेका हुन्। घरेलु रिङमै भएको डब्ल्युडब्ल्युईको आफ्नो पहिलो बाउटमै वाइजले जित हासिल गरे।
डब्ल्युडब्ल्युईका सुपरस्टार सेमस र सेजारोसँग टिम बनाएर सिक्स म्यान ट्याग टिम भिडन्तमा वाइजको टिमले द साइनिङ स्टारर्स र बो डलासलाई पराजित गरेका हुन्।
आफ्नो 'फिनिसिङ मुभ' बडी स्प्ल्यासमार्फत वाइजले जित हात पारे।
६ पटक जर्मनी राष्ट्रिय टिमका लागि खेलेका वाइजले रिङमा आफ्नो नयाँ नाम 'द मेसिन' राखेका छन्। वाइजलाई डब्ल्युडब्ल्युईले घरेलु रिङ म्युनिखमै डेब्यु गर्ने अवसर दिएको हो।
डब्ल्युडब्ल्युई परफरमेन्स सेन्टरमा लगातारको ट्रेनिङपछि वाइजले रेस्लिङ भिडन्तमा प्रतिस्पर्धा गरेका हुन्।
३४ वर्षे वाइजको डब्ल्युडब्ल्युई इन्ट्री भने जर्मनीकै फ्राङफर्टमा स्पेशल गेस्ट टाइमकिपरको रुपमा भएको थियो। त्यसपछि उनलाई डब्ल्युडब्ल्युईका आइकन एवं एक्जुकेटिभ भाइस प्रेसिडेन्ट अफ ट्यालेन्ट ट्रिपल एचले ट्रेनिङका लागि डाकेका थिए।
काइजरलाटनबाट जर्मन बुण्डेसलिगामा डेब्यु गरेका वाइजले वेडर ब्रेमेन र होफेनहाइमका लागि समेत फुटबल खेलेका थिए। सन् २०१० को जर्मन विश्वकप फुटबल टिममा परेका वाइजले कुनै खेल भने खेल्न पाएनन्।
सन् २००८ मा इंगल्याण्ड विरुद्धको खेलमा जर्मनीको लागि डेब्यु गरेका वाइजले २०१४ मा संन्यासको घोषणा गरेका थिए।