PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कान्तिपुर गाथा : ​प्रेमीको औकात



किशोर नेपाल

कान्तिपुर गाथा : ​प्रेमीको औकात

साँच्चै अप्ठेरोमा थिइ कनिका। डाक्टरले भेट्न निम्तो दिँदा उसँग ‘हुन्छ’त भनिहाली, कुरा चाहिँ के गर्ने? केही सोचेकी थिइन। उसले सोच्नपर्ने आवश्यकता पनि देखेकी थिइन। उसले अन्दाज मारिसकेकी थिइ, डाक्टर अनिकेतले के खोजेको हो? कनिकाले यस्ता पचासौं प्रेमीको औकात नापिसकेकी छ। अब यो डाक्टरको पनि नापिहालौं न।
 
उनीहरु शहरको ठूलो रेष्टुराँमा भेटिए। अनिकेतले ‘हाई’ गर्दा कनिकाले ‘ही’ भनेर हात बढाइसकेकी थिइ। शायद डाक्टरले कनिकाको संकेत बुझेन र एकछिन अल्मलियो। त्यसपछि कनिकासँग हात मिलाउँदै उ रेष्टुराँ प्रवेश गर्‍यो। डाक्टरले कनिकालाई जति प्यामपर्ड गर्दै थियो, त्यति त उसलाई कसैले पनि गरेको थिएन अहिलेसम्म। चार्लीको कुरा अर्कै हो। उसले सम्झाएको हो कि, गाली गरेको हो कि प्याम्पर्ड गरेको हो त्यो थाहै हुँदैनथ्यो।

केहीबेरको भलाकुसारीपछि डाक्टरले विनम्र भएर सोध्यो, ‘ड्रिंक्स अर्डर गरौं कि?’
 
कनिकाले भनी, ‘हुन्छ।‘
 
कनिकाले सेवेस्टियन व्हाइटको ग्लास मागी। अनिकेतले जीन–टनिक माग्यो। जीन–टनिक कुनै सेन्सेसनल ड्रिंक थिएन। कनिकाले बुझिहाली - यस्ता कुरामा डाक्टर अनाडी नै छ।
 
कनिकाले बुझेकी थिइ - यस्तो मिटिङको कुनै एजेण्डा हुँदैन। तै पनि, उसले औपचारिकता निर्वाह गर्दै सोधी, ‘आजको हाम्रो भेटको मुख्य एजेण्डा के हो डाक्टर साहेव?’
 
डाक्टर बोल्यो, ‘त्यस्तो एजेण्डा नै भनेर त केही छैन। साँचो कुराभन्दा आजको मेरो एजेण्डा तपाईँ नै हो।’

यस्तो जवाफको आशा गरेकी थिइन कनिकाले। भनी,‘व्हाट?’

 उसको मुख लाजले रातो भयो। उसलाई पुरानै अवतारमा सेटल हुन केहीबेर लाग्यो।
 
‘यस, मेम साहब। मेरो कुरा त्यति नै हो। मैले तपाईँलाई देखेपछि इन्स्ट्यान्टली मनपराइहालेँ। यू आर सो इम्प्रेसिभ। मेरो मन उफ्रेर तपाईँको मनसँग जोडिन पुगिहाल्यो। म के गरौं त?’
 
कनिकाले मनमनै सोची - डाक्टर त हिन्दी सिनेमामा देखिने मजनुको अवतारमा पो देखियो। उसले यस्तै केही एक्स्पेट त गरेकी थिइ। तर, प्रस्तुती यति चर्को होला भन्ने सोचेकी थिइन। उसले डाक्टरलाई जवाफ दिइ, ‘म त इनभल्भ्ड छु। मेरो व्वाइफ्रेण्ड छ।’
 
सुनेर अनिकेत झस्किएन। उसले पनि कनिकाबाट यस्तै जवाफको आशा गरेको थियो। उ बोल्यो, ‘त्यसले के भो त? हामी एकआपसमा भेट्न र कुरा गर्न त सक्छौं नि होइन र कनिका?’
 
डाक्टरले पहिलो भेटमा नै कनिकालाई उसको नामले बोलाएको थियो। यसले उसलाई केही फरक त परेको होइन, तर रुढ सुनिएको थियो। कनिकाले त्यसलाई लामो तानिन। उसले पनि अनिकेतलाई नामैले बोलाउन थाली।
 
लन्च खाएर उनीहरु निस्किए। त्यति धेरै कुरा भएन। आँखा र इशाराको भाषा नै काफी थियो दुवैका लागि।

उनीहरु लन्च टेबलबाट उठे। रेष्टुराँको पार्किङमा अनिकेतको कार थियो। कनिकाले स्कुटी ल्याएकी थिइन। डाक्टरले सोध्यो, ‘कहाँ छाडिदिउँ कनिकालाई?’
 
कनिका कारमा बसी। त्यसपछि आफनो व्यागबाट सिगरेट निकाली र सल्काइ। त्यसपछि भनी, ‘मोटरमा स्मोक अलाउड त छ नि?’
 
नभए पनि तिमीले सल्काइसक्यौ। बरु तिम्रो अनुमति पाए म पनि सल्काउने थिए। अनुमति मात्र होइन सिगरेट पनि।’
 
कनिकाले अनिकेतलाई सिगरेट दिइ। डाक्टरले सिगरेट सल्कायो र बाटो घुमायो।

‘किन म त दरबार मार्ग जाने हो। यो त घुमाउरो रुट परेन?’
 
अनिकेतले हाँस्दै जवाफ दियो,  ‘घुमाउनै खोजेको हो।
 
कनिका गुनगुनाइ, ‘कान्छीलाई घुमाउने काठमाडौं शहर।
 
त्यसपछि कार दरबारमार्ग जाने मोडतिर लाग्यो।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)
 
यो सिरिजका अन्य गाथा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell