काठमाडौं : अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को २०१७ को स्कोरकार्ड प्रकाशित भएको छ। यस वर्ष एमसीसीले स्कोरकार्डका लागि चयन गरेका ८२ देशहरु मध्ये ३३ देशहरु मात्र उत्तीर्ण हुन सफल भए भने ४९ देशहरु अनुत्तृण रहे।
गत वर्ष जस्तै यस वर्ष पनि नेपालले समग्रमा २० वटा सूचकहरु मध्ये १६ वटामा पास भयो तर ४ सूचकमा फेल। एमसीसीको सञ्चालक समितिले नेपालको स्कोरकार्ड नतिजा र अन्य सान्दर्भिक सूचनाहरुका आधारमा नेपाललाई फेरि चयन गर्नुपर्ने हुन्छ।
गत असोज १० मा एमसीसीले मिलेनियम च्यालेन्ज कार्यालय, नेपालद्वारा प्रस्तावित बिद्युत क्षेत्रका बिभिन्न परियोजनाहरुको सम्भाब्यता अध्ययन सुरु गरेको थियो। उक्त कार्यालय नेपाल सरकारको एमसीसीका विकास परियोजनाहरसँग समन्वय गर्ने निकाय हो। यी लगायत प्रस्तावित सडक यातायात र अफ-ग्रिड बिद्युत परियोजनाहरुको सम्भाब्यता अध्ययन सन् २०१७ जनवरी (पौष २०७३) सम्ममा पूरा हुनेछन्। एमसीसीले प्रस्तावित लगानी कार्यक्रम आफनो संञ्चालक समितिमा स्वीकृतिका लागि सन् २०१७ मा पेश गर्नेछ।
एमसीसीले मौलिक हकहरुमा प्रतिबद्द रहने, भ्रष्टाचार नियन्त्रणको पहल गर्ने, लोकतान्त्रिक अधिकारहरुसँगै महिला अधिकारको सम्मान गर्ने राष्ट्हरुसँग मात्र सहकार्य गर्दछ। एमसीसीको प्रतिस्पर्धात्मक छनौट प्रक्रिया तथ्याङ्कमा आधारित र पारर्दशी हुन्छ, जसले संस्थाको विकास बजेट कहाँ लगानी हुँदैछ भन्ने निर्धारण गर्दछ। एमसीसीको सहयोग प्राप्त गर्न, कुनै पनि राष्ट्रले पहिले एमसीसीको स्कोरकार्ड उत्तीर्ण गर्नु पर्दछ। यो स्कोरकार्ड खुल्ला रुपमा तेस्रो पक्षले देशको आर्थिक स्वतन्त्रता, नागरिकमा लगानी र न्यायपुर्ण राज्य संञ्चालनको नीतिमा गरेका बीस भिन्न सूचकहरुको आधारमा निर्धारण गरिन्छ।