
कलैया : बाराको कलैया–६ स्थित एक कपास उद्योगमा आज बिहान करिब २ बजे विद्युत् चुहावट भएर आगलागी भएको छ।
आगलागीबाट करिब रु २५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए। कलैया–१ का इन्द्रजीत यादवको उक्त कपास उद्योगमा लागेको आगो कलैया, वीरगन्जका वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
यसैगरी परशुरामपुर गाविस–७ औरहीका सुदामा राय यादवका घरगोठमा आज बिहान आगलागी हुँदा करिब रु १० लाख ५० हजार बराबरको क्षति भएको छ।
लामखुट्टे धपाउन गोलमा बालिएको धुपबाट सल्किएको आगोले गोठमा रहेका एउटा गोरु र तीन बाख्रा, घरमा रहेका लत्ताकपडा तथा अन्नपात जल्दा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बाराको खोववा गाविसको नमाकार्टेल बस्ने बच्चु पण्डितको घरमा पनि गएराति आगलागी हुँदा करिब एक लाखको क्षति भएको प्रहरीले जनाएको छ।