काठमाडौं : काठमाडौंको हात्तीगौंडामा आज बिहान कार र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा ६ जना घाइते भएका छन्।
चक्रपथबाट बुढानिलकण्ठतर्फ गइरहेको बा १ ज ७५७५ नम्बरको भाडाको कार र विपरीत दिशाबाट आउँदै गरेको बा ६८ प १०४८ नम्बरको मोटरसाइकल बिहान ४ बजे जुधेका थिए। सो घटनामा दुवै सवारी साधनका चालकसहित ६ जना घाइते भएका हुन्।
घाइते सबैको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। घाइतेमध्ये बुढानिलकण्ठकी २५ वर्षीया सविना श्रेष्ठको अवस्था गम्भीर रहेको छ।
यस्तै काठमाडौंको जडिबुटी चोकमा गएराति पेप्सीकोलाबाट कोटेश्वरतर्फ आउँदै गरेको बा १ ज ७५९७ नम्बरको माइक्रोबसले बा ६१ प २३८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन्।
घाइते हुनेमा मोटरसाइकल चालक काभ्रेपलाञ्चोकका २१ वर्षीय कुमार दाहाल र पछाडि सवार १६ वर्षीय असीम दंगाल छन्। घाइते दुवैलाई सिभिल अस्पताल बानेश्वरबाट थप उपचारको लागि ट्रमा सेन्टर न्युरोड लगिएको छ। ठक्कर दिने माइक्रो सहित चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ।