काठमाडौं : सधैंको छठमा रानीपोखरी झकिझकाउ हुन्थ्यो। तर भूकम्पपछि भने यो अवस्था रहेन। पछिल्ला केही वर्षदेखि स्थानीय रानीपोखरीमा छठपर्व मनाइँदै आए पनि यस वर्ष भने अर्घ्य लिन र दिन समस्या हुने भएको छ।
भूकम्पपछि रानीपोखरीको पुनर्निर्माण हुन नसक्दा यस वर्ष अधिकांश कार्यक्रम बाहिर नै हुने भएका छन्। अर्घ्य दिन र लिनका लागि रानीपोखरी खुला गरिए पनि व्रत बस्ते काम भने शान्तिबाटिका र त्रिचन्द्र क्याम्पसको प्राङ्गणमा गरिने काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले जानकारी दिए।
पुनःनिमार्णका कामको सुरुआत गरिएकाले पोखरीको पानी निकालिएको छ। पानीको अभाव र व्रतालु बस्ने स्थानको अभाव भएकाले समस्या देखिएको हो।
२०७२ बैसाखको भूकम्पका कारण रानीपोखरीमा पूर्ण रुपमा क्षति पुगेको थियो। पुनर्निर्माण थालिए पनि अहिले रोकिएको छ।