
- पोस्तक श्रेष्ठ

उनी नयाँ विद्यार्थी थिइन्। केही महिनाअघि मात्र देवेशको स्कुलमा भर्ना भएकी। शारीरिक रुपमा अलि ठूली देखिए पनि उनी आठ कक्षामा पढ्दी रहिछन्। नाम जुनेली। वास्तवमा उनी जून जस्तै हिस्सी परेकी थिइन्।
देवेशको कुनै केटीहरुसँग निकटता थिएन। नजिकमा केही केटीहरु त थिए तर उनीहरु टोलछिमेकका दिदी-बहिनीहरु थिए। त्यो समयमा केटीहरुसँग बोल्न, सँगै उभिन, हिँड्न पनि ठूलो साहसको कुरो हुन्थ्यो। उसको कक्षाका केही केटी सहपाठीहरुसँग त कहिल्यै बोली मिसिएन। तैपनि बेला-बेलामा चर्चा चल्थ्यो, फलानाले फलानालाई मन पराएको, फलानाको फलानासँग प्रेम भएको आदि-इत्यादि। त्यसले जरुर केही प्रभाव पार्थ्यो र उसलाई पनि लाग्थ्यो- आफ्नो पनि कोहीसँग प्रेम भए हुन्थ्यो नि।
तर ऊ कसैको पछि लागेको थिएन वा कसैमाथि दिल गएको थिएन।
जुनेलीको कक्षामा देवेशको एउटा साथी थियो- हर्ष। पढ्न ढिलो सुरु गरेकोले ऊ भर्खर आठ कक्षामा पुगेको थियो। हर्षबाट देवेशले जुनेलीबारे जानकारी लिन थाल्यो। जुनेलीको खास घर तनहुँको खैरेनीटार रहेछ र यहाँ मामाको घरमा बसेर पढ्न आएकी रहिछन्। देवेशलाई त्यतिखेर खैरेनीटार कहाँ छ भन्ने पनि थाहा थिएन।
देवेशका आँखाहरुले अब जुनेलीलाई पछ्याउन थालेका थिए। उनले हेरेको, नजर जुध्दा लजाएर मुस्काएको, सबै मन पर्न थालेको थियो। अझै बोलचाल भने भएको थिएन। त्यसै त केटीहरुसँग बोल्न अप्ठ्यारो तर मन परेपछि त झनै गाह्रो। प्रयासचाहिँ उसले जरुर गर्यो। जुनेलीको मामाको पसल थियो। उनी कहिलेकाहीँ पसलमा बसेकी हुन्थिन्। केही किन्ने निहुँले देवेश पसल छिर्थ्यो। अनि नचाहिएको सामान भए पनि किनेर फर्किन्थ्यो। सामान दिएर पैसा लिएपछि जुनेली मुसुक्क हाँस्थिन्। त्यो नै देवेशको लागि ठूलो उपलब्धि हुन्थ्यो। त्योभन्दा बढी सम्बन्धले कुनै गति लिएको थिएन।
'चिठी लेख न त, म दिन्छु,' एक दिन हर्षले भन्यो।
तर देवेशलाई आँट आएन। त्यतिखेर कस्तो परिस्थिति थियो भने, कुनै केटाले केटीलाई चिठी लेख्यो र त्यो स्वीकार भएन भने त्यो चिठी स्कुलको कार्यालयमा पुग्न सक्थ्यो। अनि शिक्षकको भक्कुमार गोदाई हुन्थ्यो। कहिलेकाहीँ त केटाको अभिभावकलाई समेत स्कुलमा झिकाइन्थ्यो। लज्जास्पद स्थिति हुन्थ्यो। देवेशको कक्षाको दुई-तीन जना केटाहरुले त्यो भोगिसकेका थिए। देवेश पढाइमा तीक्ष्ण, अनुशासित र लगनशील विद्यार्थी भनेर गनिन्थ्यो। आफ्नो इज्जत र प्रतिष्ठा सम्झेर पनि देवेश हच्किन्थ्यो। कहिलेकाहीँ उसलाई लाग्थ्यो- म किन अरु जस्तै साधारण विद्यार्थी भइनँ!
यत्तिकैमा दसैं आयो। दसैं, नयाँवर्ष आदिको मौकामा केटाकेटीहरु खुब शुभकामना साटासाट गर्थे। हिन्दी सिनेमाका हिरो हिरोइनका सस्ता पोष्टकार्डहरुमा आकाश-पाताल जोडेर नेपाली र हिन्दीमा मुक्तक कविताहरु लेख्थे। देवेशले कतिपय साथीहरुको शुभकामनापत्र र प्रेमपत्र पनि लेखिदिने गरेको थियो। तर आफ्नै प्रेम पत्र लेख्न भने उसलाई साह्रै मुस्किल भइरहेको थियो।
'मौका यही हो, दसैंको एउटा शुभकामनापत्र पठाएर हेर त,' हर्षले उचाल्यो।
देवेशलाई हर्षको कुरा ठिक लाग्यो। एउटा राम्रो शुभकामना 'कार्ड' किनेर ल्यायो। देवेशलाई अहिलेसम्म याद छ, उसले त्यो बेला लेखेका पंक्तिहरु-
लुकीछिपी खेल्ने तिम्रा नजरको अर्थ खोज्दैछु
तिमीसँग जीवनको लामो यात्रा सोच्दैछु
आशा छ, तिमीले बुझ्नेछौ मेरो मनको भावना
बुझ्दिनौ? केही गुनासो छैन
तैपनि स्वीकार गर
विजयादशमीको मेरो शुभकामना।
तिमीसँग जीवनको लामो यात्रा सोच्दैछु
आशा छ, तिमीले बुझ्नेछौ मेरो मनको भावना
बुझ्दिनौ? केही गुनासो छैन
तैपनि स्वीकार गर
विजयादशमीको मेरो शुभकामना।
दसैंको छुट्टी सुरु भयो। जुनेलीले केही पठाएकी छिन् कि भनेर हर्षसँग सोधिरहन्थ्यो। आफ्नो प्रेम प्रस्ताव स्वीकार नहोला कि भन्ने पीर त छँदै थियो। पत्र शिक्षकहरुको हातमा पुग्ने भय पनि त्यतिकै थियो।
एक दिन हर्षले जुनेलीको चिठी लिएर आयो। दुवैले आतुरीका साथ खोलेर पढे। पत्र संक्षिप्त थियो।
'हाम्रो मेल सम्भव छैन। म हजुरभन्दा सानो कक्षामा पढ्ने। पढाइ पनि राम्रो छैन। हजुरको पढाइ राम्रो छ। पढाइमै ध्यान दिनु भए राम्रो होला…
जुनेलीको पत्रले कुनै उत्साह दिएन। देवेशको प्रेम प्रस्ताव स्वीकृत भएको हो वा तिरस्कृत केही प्रष्ट थिएन। एक प्रकारले उपदेशपूर्ण भाव पो थियो त। ऊ खिस्रिक्क पर्यो। अलिकति रिस पनि उठ्यो। मस्तिष्कमा पहिलो वाक्य बज्रिरह्यो- 'हाम्रो मेल सम्भव छैन….'
जुनेलीले घुमाउरो भाषामा उसको प्रेमप्रस्ताव अस्वीकृत गरिन् भन्ने लाग्यो उसलाई। तर जेहोस् पत्र शिक्षकहरुको हातमा परेन भन्नेमा चाँहि ऊ ढुक्क भयो।
'खम्बाको आड लिएर लुकीलुकी चाँहि किन हेरेकी रहिछ?' देवेश गनगनायो।
'खै, तेरो सिङ पनि छैन, पुच्छर पनि छैन, किन हेरेकी हो?' हर्षले ठट्टा गर्यो,' छोड्दे यार, केटीहरुलाई बुझ्न सजिलो छैन। अब पढाइमै ध्यान दे।'
केही दिनसम्म देवेशको मन खिन्न भइरह्यो। लगतै 'सेन्टअप' टेस्ट थियो। देवेश परीक्षाको तयारीमा जुट्यो। जुनेलीकी मामाको घरको बाटो हिँड्न पनि छोडिदियो। स्कुल जान नपर्ने भएपछि जुनेलीसँग भेट हुने कुरा पनि भएन। परीक्षा राम्रो भयो। ऊ जिल्लाभरिमै प्रथम भएको थियो। तर जुनेलीको प्रेममा भने फेल।
समय जुनसुकै घाउको पनि मलम हो। देवेशले जुनेलीको बारे सोच्न बिस्तारै छोडिदियो। उसलाई लाग्यो यो माया-प्रेम भन्ने चिज उसको वशको कुरा होइन। उसको प्राथमिकता अब एसएलसी परीक्षा भयो। ऊ फेरि पढाइमा अभ्यस्त हुन थाल्यो। उसका केही साथीहरु ऊसँग सहयोग माग्न आउँथे। हिउँदको पारिलो घाममा दिनभरि साथीहरूले घेरिएर गणित, अंग्रेजी, विज्ञानका समस्याहरुसँग अल्झिरहन्थ्यो। एसएलसी परीक्षा तयारीको त्यो समय जीवनको एउटा रोमान्चपूर्ण क्षण थियो। परीक्षाको कुतूहलता हुन्थ्यो। भित्रभित्र डर मिसिएको हुन्थ्यो। उत्तीर्ण भएपछि कुन कलेज जाने, कहाँ जाने,के विषय पढ्ने जस्ता कुराहरु मष्तिस्कमा रुमलिरहन्थे। साथी, छर छिमेक, आफन्तहरुसँग वार्तालापको विषय नै यही हुन्थ्यो।
एक दिन अचम्म भयो। देवेश सदाझैं आँगनमा गुन्द्री ओछ्याएर घाम ताप्दै पढिरहेको थियो। साथीहरु कोही थिएनन्। देवेशको बुवा कतै गाँउ घुमेर फर्कनुभएको थियो। उहाँले एउटा चिठी अगाडि फ्यात्त खसालिदिनुभयो।
'बाटोमा हुलाकी भेटेँ। तेरो चिठी आएको रहेछ।'
प्रेषकको नाममा देवेशको एउटा साथीको नाम लेखिएको थियो, जो दुई दिनअघि मात्र गणितका केही समस्याहरु लिएर भेट्न आएको थियो। देवेशको दिमाग फनफनी घुम्यो।
देवेशले उत्सुकताका साथ पत्र खोलेर हेर्यो। खामभित्र अर्को खाम निस्कियो। सक्कली प्रेषकको नाम त त्यहाँ पो थियो। उसको मुटुको धड्कन तीव्र भयो। हिँउदको त्यो चिसो महिनामा पनि उसलाई खलखली पसिना आयो।
पत्र जुनेलीको नै थियो।
देवेशले व्यग्रताका साथ पत्र पढ्न थाल्यो। पत्रको पहिलो अंशमा जुनेलीले देवेशको पत्रको प्रतीक्षा गरीरहेकी र किन प्रत्युत्तर नलेखेको भन्ने गुनासो थियो। पहिलो पत्रले केही चित्त दुखेको भए माफी पाऊँ पनि भनेकी थिइन्। जुनेलीले देवेशलाई पनि मन पराएको कुरा स्वीकार गरेकी थिइन् र जीवन सँगै बिताउने सपना देखेकी कुरा उल्लेख गरेकी थिइन् । बाँकी अंशमा धेरै कुराहरु- प्रेममा परेकी एउटा किशोरीले लेख्ने प्रचलित सबै कुराहरु थिए।
देवेशले साथीहरुको प्रेमपत्र लेख्ने र पढ्ने गरेकोले ती सबैका भाषा र शैलीहरु करिब करिब उस्तै लाग्यो। शाब्दिक रुपमा कुनै नवीनता थिएन। तर त्यो कसैले उसैको लागि लेखेकोले त्यसको मज्जा बेग्लै आइरहेको थियो। उसले पत्र दोहोर्याइतेहेर्याई पढ्यो र हरेक पटक पढ्दा नौलो र मिठो महसुस गर्यो। उसलाई जीवनमा पहिलो पटक कुनै केटीले माया गरेको अनुभूति भएको थियो।
त्यो दिन देवेश पढाइमा एकाग्र हुन सकेन र घरबाट निस्कियो। घर नजिक नदी थियो। नदीको किनारै किनार धेरै तलसम्म पुग्यो। नदीमा कुनै छाल थिएन। शान्त रुपमा बगिरहेको थियो। तर देवेशका मनका ज्वार-भाटाहरु भने उच्च थिए। मन तरंगित थियो।
पत्र हर्ष मार्फत नआएर किन हुलाकबाट आयो भन्ने खुल्दुली पनि थियो उसमा। पछि थाहा भयो, हर्ष छुट्टीमा कतै गएको रहेछ।
त्यसपछि देवेश र जुनेलीबीच नियमित पत्रहरु आदान-प्रदान हुन थाल्यो। 'आकाबभन्दा फराकिलो र समुद्रभन्दा गहिरो' मायाप्रीतिका कुराहरु लेखिए। अर्को जन्म हुन्छ कि हुन्न थाहा थिएन, तर हरेक जन्ममा साथ दिने कसमहरु खाइए। हिन्दी फिल्महरुको प्रभाव हुनुपर्छ- जुनेलीका कुनै पत्रमा केही वाक्यहरु रगतले लेखिएका हुन्थे। सायद देवेशले पनि त्यसै गर्यो होला। आफूले मन पराएकी केटीले प्रेम स्वीकार गरेपछि देवेशको मन अब स्थिर भएको थियो। पढाइमा पनि मेहनत गरिरहेको थियो। पढाइको बीचमा 'रिफ्रेस' हुन कहिलेकाहीँ नदीको किनारै किनार परसम्म पुग्थ्यो।
एसएलसी परीक्षा सकियो। परीक्षा समग्रमा राम्रै भएको थियो। रिजल्टको लागि चार-पाँच महिना कुर्नुपर्थ्यो। परीक्षापछि ऊ त्यसै हल्लिरहेको थियो। उसलाई आफ्नै स्कुलमा 'भोलेन्टियर' शिक्षक हुने अवसर आयो। समयको सदुपयोग पनि हुने र जुनेलीसँग पनि भेट भइरहने भएकोले ऊ खुसी भयो। कुनै दिन कुनै शिक्षक अनुपस्थित भए वा कुनै शिक्षकलाई अल्छी लागे देवेश गएर कक्षा लिइदिन्थ्यो। ऊ तासको जोक्कर जस्तो थियो, जहाँ पनि फिट हुने। कुनै कक्षामा विज्ञान पढायो। कुनैमा गणित। कतै सामाजिक शिक्षा। सबैभन्दा हाँसोउठ्दो र अप्ठेरोचाँहि सायद आफ्नै प्रेमिकाको कक्षामा नैतिक शिक्षा पढाउनु थियो होला। शिक्षकको मर्यादामा बस्नुपर्ने र प्रेम पनि जोगाइराख्नुपर्ने मुस्किल काम थियो। कुनै शिक्षकको कुनै छात्रा विशेषप्रति आसक्ति रहेको चर्चा बेलाबेला बाहिर निस्कन्थ्यो। ऊ त्यस्तो चर्चाको बिषय बन्न चाहन्थेन। उसको जुनेलीप्रतिको व्यवहार अन्य विद्यार्थीभन्दा फरक नहोस् भनेर जहिले पनि सजग रहन्थ्यो। गृहकार्य नगर्ने र कक्षामा सोधिएको प्रश्नको उत्तर दिन नसक्दा छडी खाने पंक्तिमा कहिलेकाहीँ जुनेली पनि हुन्थिन्। तर भेटमा वा पत्रमा उसको बाध्यता बुझ्न अनुरोध गर्दथ्यो र माफी माग्थ्यो।
'मेरो हजुरप्रतिको माया एउटा छडीको पीडाभन्दा लाख गुणा मिठो छ। चिन्ता नमान्नूस्,' जुनेलीको जवाफ आउथ्यो।
उनीहरुको प्रेमरथ आफ्नै गतिमा गुडिरहेको थियो। उनीहरु न कुनै जात्रा वा मेलामा भेट्थे वा फिल्म हेर्न जान्थे। जुन त्यतिखेर प्रेमीहरुको चलनचल्तीको कुरो थियो। अहिले यसलाई 'डेटिङ' भनिन्छ क्यारे। उनीहरुको प्रेम बजारमा छरपस्ट भएन। वनपाखामा छताछुल्ल भएन। उनीहरुको प्रेम शान्त र सौम्य थियो। मर्यादित थियो।
यस्तैमा देवेशको एसएलसीको रिजल्ट पनि आयो। उसले प्रथम श्रेणीमा राम्रै अंक ल्याएको थियो। अब क्याम्पसहरुमा फर्म भर्न देवेश कहिले काठमाडौं, कहिले चितवन, कहिले हेटौंडा जान थालेको थियो। भेटघाट अलि पातलिएको थियो। यसबीचमा जुनेलीका केही निराशाजनक पत्रहरु आउन थाले।
'हजुर अब पढ्न टाढा जानुहुनेछ। नयाँ ठाउँ, नयाँ परिवेश हुनेछ। उच्च शिक्षा हासिल गर्ने, उज्ज्वल भविष्य बनाउने धुनमा हजुर धेरै पर पुग्नुहुनेछ होला। मलाई शंका छ, म हजुरलाई पछ्याइरहन कहाँ सकूँली। म पढाइमा कमजोर र खासै कुनै लक्ष्य र गन्तव्य पनि नभएकी। के हजुर मलाई आफू योग्य सम्झिरहनुहोला? सहरको रमझम, नयाँ संसार, हुन सक्छ हजुरको नयाँ सम्बन्ध पनि बन्ला र हजुर पुराना कुराहरु भुल्दै जानुहोला। के हजुरको माया मलाई उत्तिकै रहला?'
जुनेलीका पत्रहरुका भावहरु यस्तै हुन थालेका थिए। वास्तवमा देवेशले प्रेम प्रस्ताव पठाउँदा धेरै परको कुरा सोचेर पठाएको थिएन। तर प्रेम पत्रहरुमा उसले धेरै वाचा खाइसकेको थियो। उसले जुनेलीलाई आश्वस्त पार्ने प्रयास गर्यो। शब्दहरुको अभाव थिएन। प्रचलित भाषामै लेख्यो- 'तिमी चिन्ता नगर। पढाइको लागि म तिमीबाट टाढा जानु परे पनि तिमी मेरो मनबाट कहिले टाढा हुने छैनौ। जुनसुकै परिस्थिति, परिवेश, बाधा अड्चनहरुमा पनि तिमी हरदम मेरी रहनेछौ।'
देवेशको व्यस्तताले पत्राचार नियमित भइरहेको थिएन। यसबीचमा जुनेलीको एउटा पत्र आयो, जसले हजारौं भोल्टको विद्युती झट्का दियो।
'म अब आफ्नै गाउँ फर्किँदैछु। मेरो बिहेको कुरो पनि चल्दैछ। यदि हजुरको माया साँचो हो भने मलाई पनि हजुरसँगै लिएर जानुहोला। जहाँ लैजानुहुन्छ त्यहीँ जानेछु। जस्तो दुःख सहनुपरे पनि सहनेछु।'
उनको पत्रले देवेशको मस्तिष्क शून्य भयो। मानौं पृथ्वी घुम्न छोडेर रोकिएको छ। नदीहरु बग्न छोडेर स्थिर भएका छन्। छोरा मान्छेले प्रेम प्रस्ताव राख्दा सायद धेरै परको कुरा सोचेर राख्दैन र बिहेको कुरा आउनेबित्तिकै उसलाई आफूमुनिको जमिन भास्सिएको जस्तो लाग्छ। देवेशलाई यस्तै भयो। उसको अगाडि सिंगो भविष्य थियो। उच्च शिक्षा हासिल गर्ने, जीवनमा केही बन्ने महत्वाकांक्षा थियो। ऊ बाबुआमाको बुढेसकालको एउटै भरोसा थियो। विद्यालयका गुरुहरुको आशाको दियो पनि। अहिले बिहेको कुरा त ऊ सोच्न पनि सक्दैनथ्यो। तर जुनेलीप्रतिको प्रेम? 'सागरभन्दा गहिरो र आकाशभन्दा फराकिलो' मायाका कुराहरु? जुनी-जुनीभर साथ दिने वाचाहरु? ती सबै झुठा हुने भए? यी सबै प्रश्नहरुले देवेशलाई बेस्सरी बेरेको थियो। ऊ उकुसमुकुस भइरहेको थियो।
ऊ काठमाडौं पढ्न जाने निश्चित भइसकेपछि एउटा पत्र लेख्यो- 'म अब काठमाडौं जाने भएँ। तिमी अहिले आफ्नै गाउँ जाऊ। मलाई तिम्रो ठेगाना दिइराख। म काठमाडौंमा व्यवस्था मिलाइसकेपछि तिमीलाई लिन आउनेछु।'
उसले अरु कुरा धेरै सोचेन। बिनायोजना मनमा जे आयो, त्यही लेख्यो। तर त्यसो लेखिरहँदा देवेश आफैंलाई विश्वास थिएन। के ऊ साँच्चि नै जुनेलीलाई लिन जाला त?
'हुन्छ। म प्रतीक्षा गर्नेछु। तर हजुरले ढिलो गर्नुभयो भने म हजुरको रहुँला या नरहूँला। हजुरको उज्ज्वल भविष्यको शुभकामना।' जुनेलीको प्रत्युत्तर संक्षिप्त थियो। जुनेलीले एउटा ठेगाना दिएकी थिइन्- खैरेनीटार, तनहुँ।
काठमाडौं हिँड्नुभन्दा केही दिनपहिले देवेशको जुनेलीसँग छोटो भेट भयो। मुखले केही बोलेनन्। आँखाहरु मात्र बोलिरहेका थिए। जुनेलीका आँखामा बिदाइ झल्कन्थ्यो। निराशा देखिन्थ्यो। सायद जुनेलीलाई विश्वास थिएन, देवेश लिन आउँछ भनेर। देवेश भने आफ्ना भावनाहरु लुकाउन खोज्दै थियो। बिदाइमा देवेशले बिस्तारै शिर झुकायो। सायद उसले भन्न चाहेको थियो- 'मेरो प्रतीक्षा गर।'
जुनेलीले पनि बिस्तारै शिर हल्लाइन्। सायद उनी पनि भन्दै थिइन्- 'हजुर आउने बाटो हेरिरहनेछु।'
देवेश काठमाडौं आयो। काठमाडौंको जीवन सजिलो थिएन। घरबाट पठाएको पैसाले मात्र खर्च नधान्ने भए पछि ट्युसन पढाउन थाल्यो। विज्ञानको पढाइ त्यत्तिकै कठिन। उसले अरु केही सोच्न सकेन। जुनेलीलाई लिन जाने कुरो झुठो साबित भयो। जुनेलीले दिएको ठेगानामा एउटा पत्र पठायो।
'माफ गर। मैले सोचे जस्तो हुन सकेन। यहाँको जीवन साह्रै कष्टकर छ। महँगी त्यस्तै छ। तिमीलाई लिन आउन सकिनँ। मेरो अहिले नै बिहे गरिहाल्ने स्थिति छैन। तिमीले पनि आफ्नो बिहे रोक्ने कोसिस गर। तिमीले मेरो प्रतीक्षा गरेमा म तिम्रै हुँ।'
देवेशको पत्रमा विवशता थियो। याचना थियो। सायद बहाना पनि थियो।
पत्रको कुनै जवाफ आएन। देवेश पनि पढाइमै व्यस्त भयो। एक वर्षपछि दसैंको छुट्टीमा घर जाँदा हर्षबाट थाहा भयो। जुनेलीको विवाह भइसकेछ। आफ्नो दुलाहासँग मामाको घर आएकी थिइन् रे। देवेशको प्रेमको अवसान भइसकेको रहेछ। उनी अर्कैको भइसकेछिन्।
त्यसपछि समय धेरै बितिसकेको छ। देवेशको आफ्नै संसार बसिसकेको छ। केशराशीहरु तिलचामले भइसकेका छन्। निधार र घाँटीमा उमेरका धर्साहरु प्रस्टै देखिन्छन्। जुनेली उसको अतीत बनिसकेको छ। तर हरेक पटक पोखरा जाँदा खैरेनीटार पुगेपछि उसको मन एकतमास हुन्छ। बसको झ्यालबाट उसका आँखाहरु जुनेलीलाई खोज्न थाल्छन्।
[email protected] (लेखक हाल मिनियापलिस अमेरिका बस्छन्।)