काठमाडौं : रक्षामन्त्री बालकृष्ण खाँणले भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण सफल भएको भन्दै भ्रमणबाट नेपाल जुनसुकै अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा सक्षम छ भन्ने प्रमाणित भएको दाबी गरेका छन्।
नेपाली कांग्रसेका नेता समेत रहेका मन्त्री खाँणले राष्ट्रपति मुखर्जीको राजकीय भ्रमणले नेपालको सुरक्षा स्थितिका बारेमा विश्वमा सकारात्मक सन्देश गएको बताए।
राष्ट्रपति मुखर्जीको भ्रमणले नेपाल–भारत द्वीपक्षीय सम्बन्धमा सुधार तथा विश्वासको वातावरण बनेको उनको भनाइ छ।
राष्ट्रपति मुखर्जीको सुरक्षामा पनि सरकारले कुनै कसर बाँकी नराखेको बताउँदै मन्त्री खाँणले भने, 'सुरक्षामा हामीले कुनै कमी हुन दिएनौ, त्यस क्रममा बाटो खाली गराउँदा जनतालाई केही कठिनाइ भएको हुन सक्छ। तर यस भ्रमणले विश्वभर मुलुकको बारेमा सकारात्मक सन्देश गएको छ।'
भ्रमणले छिमेकी मुलुक भारतसँगको मित्रता र सद्भावमा वृद्धि हुनुका साथै भोलिका दिनमा अन्य मुलुकबाट पनि अति विशिष्ट व्यक्तिको नेपाल भ्रमण हुने बाटो खुलेको उनले बताए।रासस