बागलुङ : तनहुँका लेखक काशीनाथ न्यौपानेलाई काजी रोशन साहित्य पुरस्कार प्रदान गरिने भएको छ।
धौवलागिरि साहित्य प्रतिष्ठान बागलुङले वर्ष २०७२ को उक्त पुरस्कार आगामी बुधबार न्यौपानेलाई समर्पण गर्न लागेको हो। न्यौपानेको उपन्यास कृति ‘आत्मघात क्रान्ति’ का लागि नगद १५ हजार राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले प्रत्येक दुईदुई वर्षमा राष्ट्रियस्तरमा साहित्य पुरस्कार वितरण गर्दै आएको छ। यसअघि अञ्चल र राष्ट्रियस्तरमा गरी ११ जना साहित्यकारले उक्त पुरस्कार पाइसकेका छन्।
पाण्डुलिपिलाई पुरस्कृत गर्दै आएको प्रतिष्ठानले २०७२ सालदेखि प्रकाशित पुस्तकलाई पुरस्कृत गर्न सुरु गरेको हो। रचनासँगै अन्य साहित्यिक क्रियाकलापमा पुर्याएको योगदानको कदर गर्दै न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष एवम् संस्थापक काजी रोशनले बताए।
पुरस्कारको लागि देशभरबाट प्राप्त कृतिमध्येबाट निरुपण मण्डलले न्यौपानेको उपन्यासलाई छनोट गरेको हो।