
काठमाडौँ : उपत्यकाका प्रमुख नदी सफाइ गरी आज ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ।
बागमती सफाइ महाअभियानको १८२ औँ हप्ता र विष्णुमती सफाइको ११४ औँ हप्तामा दुवै नदीको दोभान टेकुमा संयुक्त रुपमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरियो। सफाइको नेतृत्व पूर्व मुख्यसचिव तथा चीनका लागि राजदूत नियुक्त लीलामणि पौड्याल, पूर्वसचिव किशोर थापा लगायतले गरेका थिए।
सफाइमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायत सात सयको सहभागिता रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिए।
रुद्रमती सफाइको १४१ औँ हप्तामा आज कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–गौशालामा जनजागरण अभियानसहित सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले बताए। फोहरमुक्त सडक घोषणा गरिएको यो सडकमा फोहर फालेमा जरिवाना गर्ने जानकारीसमेत सो अवसरमा गराइयो।
नख्खु खोला सफाइको ६४ औँ हप्तामा आज कुसुन्ती दिव्यनगरस्थित नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। आइतबार सूर्यको आराधना गरी मनाउन लागिएको छठ पर्वको तयारीका लागि पनि सो स्थानमा सफाइ गरिएको संयोजक बलुदेव पाण्डेले बताए।
२०७० जेठ ४ गते शनिबारदेखि सुरु गरिएको सफाइ महाअभियानले उपत्यकाका नदी तुलनात्मक रुपमा सफा हुन थालेका छन्। नेपालको तीन दिने राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार पशुपतिमा विशेष पूजापछि बागमती नदीको दर्शन गर्दै सात वर्ष अघिभन्दा नदी सफा भएको भन्दै सराहना गरेका थिए।