
सभ्य भनेर चिनिले परिवारमा समेत छोरी जन्माउँदा त्यति सम्मान दिइँदैन जति छोरा जन्माउँदा आमाले सम्मान पाउँछिन्। तर, समाजमै त्यस्ता मान्छे पनि छन्, जसले छोरी जन्माएकोमा विशेष सम्मान दिन्छन्।
भारतको उत्तर प्रदेशको हमिरपुरमा एक सासूले छोरी जन्माउने आफ्नी बुहारीलाई गला जोडेर धन्यवाद मात्र दिइनन्, भोलिपल्ट उनलाई कार किनेर उपहारस्वरुप चाबी हस्तान्तरण गरिन्। प्रेमादेवी नामकी ती सासूले नाम अनुसारकै व्यवहार प्रस्तुत गरिन्। भन्छिन्, 'छोरी पुरुषको तुलनामा केही बढी असल हुन्छन्।'
स्वास्थ्य विभागमा जागिर खाएर भर्खरै रिटायर्ड भएकी प्रेमादेवी छोरा र बुहारी खुश्बुकाका साथ हमिरपुर जिल्ला सदरमुकामस्थित पशु अस्पताल नजिक बस्दै आएकी छिन्।
उनका छोरा हमिरपुरमै सरकारी जागिरे छन् तर छोरी जन्माउने बुहारी गृहिणी मात्र हुन्। उनले बुहारी खुश्बुले छोरी जन्माएपछि खुसीयाली नै मनाएकी थिइन्।
छिमेकीहरुका अनुसार बुहारीले छोरी जन्माएपछि प्रेमाले पार्टी गरेकी थिइन् र त्यही घोषणा गरेकी थिइन् कि- मेरी बुहारीलाई म दिवालीअघि नै कार गिफ्ट गर्नेछु।
उनले घोषणाअनुरुप नै होण्डा सिटीकार किनेर गिफ्ट दिइन्। बुहारीले खुसीका आँसु बगाइन्।
'छोरीलाई गर्भमै मार्ने गलत अभ्यास तब खतम हुन्छ जब बुहारीलाई छोरीसरह स्वीकार गरिन्छ। किनभने बुहारी पनि कसैकी छोरी हुन्छिन्, जब उनलाई ससुरालमा आमाको माया मिल्नेछ उनी खुसी हुनेछिन्,' प्रेमाले भनिन्।
उनले समाजमा बुहारीले सासूलाई आमा देख्ने र सासूले बुहारीलाई छोरी देख्न थाले महिलाका दिन फिर्ने उनले बताइन्। 'त्यो भाग्यमानी व्यक्ति हो जसलाई सासूबाट पनि आमासरह मायाको नजर मिल्छ। त्यसपछि समाजमा यो समस्या पनि हट्छ र बुहारीले पनि सासूलाई आफ्नै आमासरह मान्दछन्,' उनले भनिन्, 'किनकि सासू पनि कसैका आमा नै हुन्।'