
काठमाडौं : अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर आज छठ पर्व विशेष उल्लासका साथ मनाइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज प्रमुख दिन हो। सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो।
द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको महाभारतमा उल्लेख छ। सोही समयदेखि नै छठ मनाउने परम्परा सुरु भएको संस्कृतिविद्हरु बताउँछन्।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुवात भयो।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर छठको व्रत बस्ने गरिन्छ। दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको कमलपोखरी छठ व्यवस्थापन समितिका उपाध्यक्ष जीतेन्द्र झा बताउँछन्। षष्ठीमा रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य पर्व समापन हुन्छ।
छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी लगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा पनि सजावट गरिएको छ। मुख्यत: तराईमा मनाइने छठ पछिल्लो समय पहाड कतिपय ठाउँमा पनि मनाउन थालिएको छ। छठले तराई-पहाडबीच सद्भाव र सहिष्णुको पुलको काम पनि गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुका गुह्येश्वरी र कमलपोखरीमा छठ पूजा गर्ने कार्यक्रम छ।