
म्यानचेष्टर सिटी मिडल्स्ब्रोसँग बराबरीमा रोकिएको फाइदा उठाउँदै एभरटनलाई पराजित गरेको चेल्सी इंगलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ।
गएराति भएको खेलमा लिग लिडर सिटी मिडल्स्ब्रोसँग घरेलु मैदान एतिहाड स्टेडियममै १-१ गोलको बराबरीमा रोकियो।
एक गोलको अग्रता बनाएर पनि अन्तिम समयमा गोल खाँदा सिटीले अंक बाँड्नुपरेको हो। सिटीका लागि सर्जियो अगुएरोले गोल गर्दै अग्रता दिलाएका थिए। तर खेलको अन्त्यतिर मार्टे डे रुनले गोल गरेपछि मिडल्स्ब्रो एक अंक खोस्न सफल भएको हो।
सिटी बराबरीमा रोकिएको फाइदा चेल्सी उठायो र शीर्ष स्थानमा उक्लियो। चेल्सीले घरेलु मैदान स्टानफोर्ड ब्रिज्ममा एभरटनलाई ५-० को फराकिलो अन्तरमा हरायो।
चेल्सीको जितमा एडेन हाजार्डले २ गोल गरे भने डिएगो कोस्टा मार्कोस अलोन्सो र पेड्रो रोड्रिगेजले १/१ गोल गरे।
यस्तै यस सिजन सण्डरल्याण्डले प्रिमियर लिगमा पहिलो जित दर्ता गराएको छ। १० खेलसम्म जितविहीन रहेको सण्डरल्याण्डले १० खेलाडीमा झरेर पनि एएफसी बर्नमाउथलाई उसैको मैदान २-१ ले हरायो। डान गोसलिङले गोल गर्दै बर्नमाउथलाई पहिले अग्रता दिलाएपछि सण्डरल्याण्डले उत्कृष्ट कमब्याग गर्यो।
भिक्टोर एनिचेवेले सण्डरल्याण्डको लागि बराबरी गोल गरे। त्यसपछि स्टेफेन निएनार दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि जर्मेन डेफोले गोल गर्दै सल्ण्डरलयाण्डलाई २-१ को जित दिलाए।
एभरटन विरुद्ध शानदार जित हात पारेपछि चेल्सीले शीर्ष स्थानमा एकल अग्रता कायम गरेको छ। ११ खेलबाट २५ अंक जोड्दै चेल्सी प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको हो।
मिडल्स्ब्रोसँग बराबरीमा रोकिएको सिटी समान खेलबाट २४ अंकसहित दोस्रो स्थानमा झरेको छ। एक खेल कम खेलेको आर्सनल र लिभरपुल समान २३ अंकका साथ क्रमश तेस्रो र चौथो स्थानमा छ।
लिग अन्तर्गत आज आर्सनलले बेलुका टोटनहमसँग खेल्नेछ। यस सिजन अपराजित रहेको टोटनहम २० अंकसहित पाँचौ स्थानमा छ। लिभरपुलले भने घरेलु मैदानमा आजै वाटफोर्डसँग खेल्नेछ।