
यस सिजन जर्मन बुण्डेसलिगामा ३ टोली अपराजित छन्। त्यसमध्ये शीर्ष स्थानमा रहेको वायर्न म्युनिख एक हो। वायर्नबाहेक अपराजित रहेका अन्य दुई टोली हुन् होफेनहेइम र लेइपजिग।
वास्तवमै यो सिजन होफेनहेइम र लेइपजिगले असाधारण प्रदर्शन गरिरहेको छ। यति मात्र होइन लिग लिडर वायर्नलाई अंक तालिकामा पनि पछ्याइरहेका छन् यी दुई क्लबले।
यही होफेमहाइमले गएराति भएको बुण्डेसलिगाको दशौं चरणको खेलमा शीर्ष स्थानको वायर्नलाई १-१ गोलको बराबरीमा रोक्दै अंक बाँडेको छ। खेलमा होफेमहेइमले पहिले अग्रता लिएको थियो भने वायर्नलाई पनि एक गोल उपहार दियो।
१६ औं मिनेटमा केभिन डेरेर्मबीले गोल गर्दै वायर्नको घरेलु मैदान एलिएन्ज एरेनामा होफेनहेइमलाई अग्रता दिलाए। तर ३४ औं मिनेटमा होफेनहेइमकै स्टेभेन जुबरले आत्मघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो। त्यसपछि वायर्नले घरेलु मैदानमा गोल गर्न सकेन र बराबरीमा चित्त बुझायो।
यस सिजन वायर्नको यो तेस्रो बराबरी हो भने होफेनहेइमको पाँचौं। बराबरीपछि वायर्न १० खेलमा २४ अंकका साथ शीर्ष स्थानमा कायमै छ। समान खेलबाट २० अंक जोडेको होफेनहेइम हेर्थ बर्लिनलाई पछि पार्दै पुन: तेस्रो स्थानमा उक्लेको छ।
होफेनहेइम र बर्लिनको समान अंक र समान गोल अन्तर रहेपनि बडी गोल गरेको आधारमा होफेनहेइम अगाडि रहेको छ।
बर्लिनले सोलोमन कलाउको ह्याट्रिक मद्धतमा बोरुसिया मोन्चेनग्लाडबाकलाई ३-० ले पराजित गर्यो।
यता अर्को अपराजित लेइपजिग ९ खेलबाट २१ अंक जोड्दै दोस्रो स्थानमा छ।
बुण्डेसलिग अन्तर्गत गएराति नै भएको खेलमा पिएरे एमरिक औवामेयेङ एक्लैले ४ गोल गरेपछि बोरुसिया डर्टमण्डले ह्यामवर्गर एसभीलाई ५-२ ले हरायो।
पहिलो हाफमै ह्याट्रिक पूरा गरेका पिऐरेले दोस्रो हाफको सुरुवातमै व्यक्तिगत चौथो गोल गर्दै डर्टमण्डलाई ४-० को अग्रता दिलाए। त्यसपछि ह्यामवर्गरका निकोलाई मुलेरले गोल गर्दै गोल अन्तर कम पारेपछि डर्टमण्डका ओसमान डेम्बेले गोल गर्दै गोल अन्तर फराकिलो पारे। मुलेरले नै ह्यामवर्गरका लागि दोस्रो गोल थपे।
जितपछि १० खेलबाट १८ अंक जोडेको डर्टमण्डको पाँचौ स्थानमा उक्लेको छ। एफसी कोलोग्नलाई १-० ले पराजित गर्दै एनट्रयाच फ्रान्कफर्ट सातौं स्थानमा उक्लेको छ। समान १८ अंक जोडेपनि पराजित टाचेली कोलोग्न गोल अनत्रमा अघि रहँदै छैटौ स्थानमा छ।
यस्तै वायर लेभरकुजन डार्मटाडलाई ३-२ ले पराजित गर्दै आठौं स्थानमा उक्लेको छ।