काठमाडौँ : प्रचण्डसँग सम्बन्ध विच्छेद गरेर बाबुराम भट्टराई अहिले नयाँ शक्ति अभियानका संयोजक बनेका छन्। पार्टीको नाम सार्वजनिक रुपमा आह्वान गरेर मागे पनि पछि भट्टराईले आफ्नो पार्टीका लागि 'नयाँ शक्ति' नै नाम रोजे।
नेपाली राजनीतिमा पटक पटक उठिरहने नयाँ शक्तिको बहसका बीच भट्टराईले पार्टीको नामै नयाँ शक्ति राखिदिए। यसको ठीक विपरीत अधिवक्ता बालकृष्ण न्यौपाने भने 'पुरानो शक्ति अभियान' नामको समूह गठन गरी संयोजक बनेका छन्।
पछिल्लो संविधानसभा निर्वाचनमा राप्रपा नेपालबाट उम्मेदवार बन्न खोजे पनि टिकट नपाएपछि उम्मेदवार बन्न पाएका थिएनन्। हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको विपक्षमा गएर कमल थापाले सम्झौता गर्न लागेको भन्दै २०७१ सालमा पद्मसुन्दर लावतीको नेतृत्वमा विद्रोह गरेपछि उनी लगायतलाई थापाले कारबाही गरेका थिए।
लावतीले राप्रपा नेपालको समानान्तर केन्द्रीय समिति बनाएका थिए, जसमा उनी महामन्त्री थिए। राप्रपा नेपालले साधारण सदस्यसमेत नरहने गरी निश्कासित गरेका संयोजक लावतीको पोहोर निधन भयो। त्यसपछि त्यो समानान्तर केन्द्रीय समितिको अस्तित्व पनि बिलाएको अवस्थामा 'पुरानो शक्ति अभियान नेपाल' भन्दै संयोजकका रुपमा न्यौपानले आज पहिलो पटक सार्वजनिक कार्यक्रम गरेका हुन्।
पहिलो पटक गरेको कार्यक्रममा उनी अख्तियार प्रमुख लोकमान सिहको प्रतिरक्षामा उत्रिए। उनको तर्क थियो- भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान विभागका प्रमुखमाथि महाअभियोग लगाउँदा त्यसले भ्रष्टाचार गर्ने प्रवृत्तिलाई बल पुग्छ।
महाभियोग प्रस्ताव फिर्ता नभए कात्तिक २९ गते देखि सो पुरानो शक्ति अभियानले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणासमेत न्यौपानले गरे।
'भ्रष्टाचारमा कारबाही रोक्ने उद्देश्यले दर्ता गरेको महाभियोग प्रस्ताव खारेज गर्नुपर्छ', उनको माग थियो।