PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

बाँदर र दुम्सीको आतंक सहन नसकेपछि गाउँबाटै विस्थापित



रासस

बेनी (म्याग्दी) : म्याग्दीको भकिम्ली–९ लरेनीका दुई घरपरिवार बाँदर र दुम्सीको आतङ्क सहन नसकेपछि गाउँ नै छोडेर हिँड्न बाध्य भएका छन्।
 
जङ्गलको बीचमा रहेको गाउँ लरेनीका सूर्य किसान र हरि किसानको परिवार गाउँबाट विस्थापित भएका हुन्। वर्षभरि दुःख गरेर खेतबारीमा लगाएको अन्नबाली बाँदर र दुम्सीले सखाप पार्ने गरेपछि गाउँ छोड्न बाध्य सूर्यले बताए।
 
बाली जोगाउन लरेनीवासीले रातको समयमा लौरो, टर्चलाइट, आगोसहित घरेलु हतियार लिएर खेतबारीको छेउमा रात बिताउने गरे पनि नियन्त्रण गर्न नसकेपछि गाउँ नै छोड्नु परेको हरिको भनाइ छ। 'अहिलेसम्म प्रयोग गरिएका सबै घरेलु उपाय असफल भए। हामीले पनि गाउँ छोड्ने निर्णय गरिसकेका छौँ,' चार घरपरिवार बसोबास गर्ने उक्त गाउँका अर्का दले चर्माकारले गुनासो पोखे।
 
चर्मकारका अनुसार बाँदर र दुम्सीलाई रोक्न खोज्दा ज्यानकै जोखिम भएकाले बालबालिका र महिलाका लागि समेत घर छोड्नुपर्ने अवस्था आएको हो। खेतबारीमा लगाएको अन्नमध्ये करिब २० प्रतिशत मुस्किलले भित्र्याउनुपर्ने अवस्थामा दैनिक गुजारा चलाउन समेत समस्या भएको लरेनीवासीको भनाइ छ।
 
मकै, कोदो, आलु, तरकारी, गहँुलगायतका अन्नबाली जोगाउन नसक्दा सधैँ छिमेकी गाउँबाट खरिद गरेर खाने गरेको गाउँलेले बताए। चार घरधुरी रहेको बस्तीबाट खेतबारीसँगै घरमा राखिएको अन्नबाली समेत जोगाउन मुस्किल भएपछि स्थानीयवासीले गाविस सचिव शिवप्रसाद शर्मालाई समेत जङ्गली जनावरबाट भएको क्षति रोक्न आवश्यक सहयोग मागेका थिए।
 
'उहाँहरूको समस्या समाधान गर्न मुस्किल छ। गाउँमा पुग्ने बाटो नै जोखिमपूर्ण छ,' सचिव शर्मा भन्छन्, 'तत्काल वैकल्पिक स्थानमा सर्न अनुरोध गरेको छु।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell