
पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको चुनौती नै संविधान कार्यान्वयन रहेको बताएका छन्।
नेपाली कांग्रेस कास्कीले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले मधेसवादी र जनजाति समुदायका गुनासालाई संविधान संशोधनबाट सम्बोधन गरेर संविधान कार्यान्वयनका दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।
२०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न भएपछि मात्र संविधान कार्यान्वयन हुन सक्ने भन्दै उनले यतिका उपलब्धि भइसकेपछि पनि सानातिना कुरामा अल्झेर प्राप्त उपलब्धि गुम्न नदिन सबै राजनीतिक दलसँग आग्रह गरे।
संविधान संशोधन हुनै सक्दैन भन्ने एमालेको अतिवादी सोच र आफूले भनेका सबै माग पूरा हुनैपर्छ भन्ने मधेसवादी दलले हठ त्यागेर सबै लचक भई एक ठाउँमा आउनुपर्ने उनको भनाइ छ।
नेपाली कांग्रेस पद्धति, प्रक्रिया, संस्थागत र समझदारीद्वारा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले पार्टी कार्यकर्ताको सही मूल्याङ्कन भएमा मात्रै पार्टी एकता हुने बताए।रासस