काठमाडौं : परराष्ट्रमन्त्री डा प्रकाशरण महतले लगानी संरक्षण तथा प्रवर्द्धनसम्बन्धी सार्क सम्झौतालाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्ने बताउका छन्।
दक्षिण एसियाली आर्थिक अनुसन्धान सञ्जाल केन्द्र (सेनी) को चौधौँ वार्षिक सम्मेलनका अवसरमा आयोजित ‘दक्षिण एसियाको बृहत्तर समृद्धिका लागि गहन एकीकरण’ विषयको दुईदिने कार्यशालाको उद्घाटन गर्दै मन्त्री महतले सार्क सदस्य राष्ट्रहरुबीच दोहोरो कर प्रावधान तथा करसम्बन्धी पारस्परिक सहयोग कार्यान्वयन गर्दै लगानी अनुकूल वातावरण तयार गर्नुपर्ने बताए।
दक्षिण एसियाको सुदृढ आर्थिक एकीकरणका लागि आर्थिक वृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले त्यसका लागि बृहत् लगानी अपरिहार्य भएको भनाइ राखे। 'क्षेत्रीय लगानी नीतिको खाका तर्जुमाका साथै लगानीका अवस्थाबारे राष्ट्रिय सूचना प्रणालीमा सुधार गर्नुपर्दछ,' उनले भने।
दक्षिण एसियामा भू–परिवेष्टित मुलुकमा सीमित रेल पूर्वाधारका कारण वस्तु तथा सेवाको ढुवानीमा कठिनाइ भएको वास्तविकता अघि सार्दै परराष्ट्रमन्त्रीले क्षेत्रीय यातायात करिडोरको प्रवर्द्धन, दक्षिण एसियाली रेल सञ्जाल निर्माण, सीमापार यातायात परियोजनामा लगानी तथा व्यापारिक नीति नियममा एकरुपता कायम गर्नुपर्ने विचार व्यक्त गरे।
दक्षिण एसियाली मुलुकमा ऊर्जाको बढ्दो मागका साथै यस क्षेत्रमा सहकार्यका प्रचुर सम्भावना रहेका बताउँदै उहाँले क्षेत्रीय विद्युत् ग्रिड, ऊर्जा व्यापार तथा सहजीकरणका लागि ऐन नियममा एकरुपता, ऊर्जामा लगानी र वितरण प्रणालीको विकासका निम्ति ठोस योजना तर्जुमा गर्नुपर्नेमा पनि उनको जोड थियो।
दुई दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियाको आर्थिक एकीकरण, आर्थिक विकास तथा मानव संसाधन विकास, विश्व उत्पादन सञ्जाल तथा संरचना, व्यापारका अवरोध एवम् क्षेत्रीयकरणजस्ता विषयमा छलफल हुनेछ।