
काठमाडौं : जापानमा हुने एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। प्रतिस्पर्धी २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली सोमबार जापानको टोकियो प्रस्थान गर्दैछ।
नोभेम्बर ८ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट समान एक पुरुष/महिला खेलाडीले भाग लिने छन्। पुरुषको ६२ केजीमा प्रकाश केसीले प्रतिस्पर्धा गर्नेछन्। कमला श्रेष्ठले महिला ५८ केजीमा प्रतिस्पर्धा गर्नेछिन्।
प्रकाशले युथ र जुनियर दुवैमा खेल्नेछन् भने कमलाले जुनियरतर्फ मात्र सहभागिता जनाउनेछिन्। प्रकाशले नोभेम्बर ११ र कमलाले नोभेम्बर १२ तारिखमा खेल्ने कार्यक्रम छ।
प्रकाशको उत्कृष्ट प्रदर्शन स्न्याचमा ९३ केजी र क्लिन एन्ड जर्कमा १२० केजी रहेको छ। कमलाको व्यक्तिगत उच्च प्रदर्शन स्न्चाचमा ५८ केजी र क्लिन एन्ड जर्कमा ७३ केजी हो।
च्याम्पियनसिपमा ३५ भन्दा बढी राष्ट्रको सहभागिता रहने नेपाल भारोत्तोलन संघले जनाएको छ।
नेपालको टिम प्रशिक्षकमा ओलम्पियन एवं भारोत्तोलन प्रमुख प्रशिक्षक सुनीललाल जोशी तथा व्यवस्थापकमा सञ्जय महर्जन छन्।
२०१७ मा हुने भारोत्तोलन च्याम्पियनसिपमा नेपालको दाबेदारी
खेलाडी र प्रशिक्षक सँगै नेपाल भारोत्तोलन संघका अध्यक्ष रतनकुमार टण्डन र महासचिव पार्थ सारथी सेन गुप्त पनि टोकियो जाँदैछन्।
टण्डन नोभेम्बर ९ तारिखमा हुने एसियाली कंग्रेस र एसियाली भारोत्तोलनको कार्यकारी बैठकमा सहभागी हुन त्यसतर्फ जान लागेका हुन्। दक्षिण एसियाली भारोत्तोलन संघका उपाध्यक्ष समेत रहेका टण्डन एसियाली भारोत्तोलन महासंघका अध्यक्ष मोहम्मद युसुफ अल्मानाका एसिस्टेन्ट हुन्।
कंग्रेसमा सन् २०१७ को जुलाइमा हुने युथ, जुनियर तथा सिनियर भारोत्तोलन च्याम्पियनसिपको अन्तिम ‘बिडिङ’ पनि हुनेछ। त्यसमा नेपालले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेको महासचिव गुप्तले जानकारी गराए। उनले नेपालले उक्त प्रतियोगिता आयोजनाको जिम्मेवारी पाउने प्रबल सम्भावना रहेको समेत बताए।
नेपालले यसअघि सन् २०१५ को अगष्टमा सिनियर एसियाली भारोत्तोलन च्याम्पियनसिप आयोजनाको जिम्मेवारी समेत पाएको थियो। तर, २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण त्यो सम्भव भएन। पछि त्यो प्रतियोगिता थाइल्यान्डले सन् २०१५ को सेप्टेम्बरमा आयोजना गरेको थियो।
एसियाली प्राविधिक कमिटीका सचिव रहेका गुप्त प्रतियोगिता सञ्चालन गर्न जापान जान लागेका हुन्। गुप्त अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघअन्तर्गत अनुशासन कमिसनका सदस्य पनि हुन्। युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेल पनि मन्त्रालयको प्रतिनिधिका रुपमा टोलीसंग जापान जानेछन्।