
काठमाडौं : विकास पत्रकार मञ्च (फोडेज) ले आज आफ्नो पहिलो वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
विकास निमार्णका क्षेत्रमा कलम चलाउने पत्रकारहरुले गत माघ २५ गते गठन गरेको मञ्चको यो पहिलो साधारणसभा हो। मञ्चका सचिव चन्द्रमणि भट्टराईले संस्थाको आर्थिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेका थिए।
विकासमार्फत राष्ट्रिय समृद्धि प्राप्त गर्न विकास पत्रकारितालाई प्रोत्साहन गर्नुपर्ने धारणा सञ्चारकर्मीहरुले राखेका छन्।
मञ्चका अध्यक्ष गोपीकृष्ण ढुंगानाले अस्थीर राजनीतिका कारण विकासका मुद्दाहरु ओझेलमा परेको बताए। उनले विकसित मुलुकका सञ्चारमाध्यमहरुले विकासलाई प्राथमिकता दिएको जानकारी दिँदै भने, ‘विकास पत्रकारितामा खोज पत्रकारिता नमिसाएसम्म सञ्चारमाध्यममा स्थान दिन पनि मिल्दैन। गहन ढंगबाट विकास पत्रकारिता गरिए समाज र राष्ट्रको विकासमा सघाउ पुग्नेछ।’
मञ्चका सचिव चन्द्रमणि भट्टराईले विकास पत्रकारिताभित्र थुप्रै क्षेत्र समेटिने भएकाले मञ्चमा स्वास्थ्य, शिक्षा, संस्कृति, मानवअधिकार, वातावरण, अर्थतन्त्र आदिमा कार्यरत पत्रकार पनि आवद्ध हुन सक्ने र सामूहिक आवाज शक्तिमा रुपान्तरित हुने बताए।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लक्की चौधरीले विकास शब्दले व्यापक क्षेत्र ओगट्ने भएकाले विकास पत्रकारिताको सही प्रयोग गर्न सके समग्रमा देश र देशबासीलाई धेरै फाइदा पुग्नेमा जोड दिए।
सभाले ४४ जना साधारण सदस्यको सदस्यतासमेत स्वीकृत गरेको छ।