
म्यान्चेस्टर (न्युह्याम्पसायर) : इमेल काण्डबाट हिलारी क्लिन्टनको शिरमाथि मडारिइरहेको कालो बादलको पर्दा अमेरिकी सङ्घीय अनुसन्धान केन्द्र (एफबिआई) ले हटाइदिएपछि क्लिन्टनको सशक्त प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई आरोप लगाउने शैलीमा परिवर्तन आएको छ।
लगभग दुई वर्षअघिदेखिको निर्वाचन अभियान समाप्त हुनै लागेको र मतदान गर्ने दिनको पूर्वसन्ध्या अत्यन्तै संवेदनशील अवस्थामा आइपुगेको छ। केही दिनयतादेखि परिवर्तित नाटकीय लहर आकलन गर्दा दुई उम्मेदवारमध्ये साह्रै थोरै मतान्तरले मात्र एकको विजय हासिल हुने देखिएको छ।
विदेशमन्त्री छँदा आफ्नो एकाउन्टमा रहेका हजारौँ इमेल मेटाएर भ्रष्टाचारजन्य कार्य र राष्ट्रघात गरेको भनी ट्रम्पले क्लिन्टनलाई पहिलापहिला कडा शब्दमा आरोप लगाउँदै आएका थिए। एफबिआईको निष्कर्ष र प्रतिवेदन बाहिर आएपछि शब्द केही नरम भए पनि इमेल काण्डको चर्चा गरी आरोपलाई निरन्तरता दिन ट्रम्पले छाडेका छैनन्।
यता, ट्रम्पको योग्यता र तुरुन्तै आक्रोशित हुने स्वभावको धेरै दिनसम्म कडा आलोचना गरेपश्चात् क्लिन्टनले अब आफ्नो ध्यान 'बाझाबाझ र झै–झगडाको अन्त्य र पुनः मैत्रिस्थापना' मा केन्द्रित रहने जनाएकी छिन्।
फिलाडेल्फियास्थित अफ्रिकी मुलका अमेरिकीको चर्चमा लगभग आध्यात्मिक प्रवचन जस्तो लाग्ने भाषणबाट सुरु भएको क्लिन्टनको अभियान यात्रा न्युह्याम्पसायर राज्यको म्यान्चेस्टरमा आयोजित चुनावी र्यालीलाई सम्बोधन गरेपछि टुंगिएको छ।
त्यसैगरी डोनाल्ड ट्रम्प पनि मतदान हुने दिनसम्मै प्रचारप्रसार अभियानमै व्यस्त रहने जनाइएको छ। उनका निर्वाचन अभियान प्रबन्धक केल्यान कोन्वेकाअनुसार फ्लोरिडा, नर्थ क्यारोलिना, पेनसिल्भानिया र न्यु ह्याम्पसायर भ्रमण गर्ने ट्रम्पको कार्यक्रम रहेको छ।
मङगलबार बिहान न्युयोर्कमा भोट खसालेपछि उनको फेरि पेन्सिल्भानिया, मिसिगन, ओहायो, नर्थ क्यारोलिना र न्युह्याम्पसायर जाने व्यस्त भ्रमण तालिका रहेको कोन्वे बताउँछन्।रासस/एपी