काठमाडौं : मिर्गौलाका बिरामीहरुलाई आवश्यक पर्ने सम्पूर्ण डायलोसिस निःशुल्क हुने भएको छ।
यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलोसिसको व्यवस्था गरिएकोमा अबदेखि जति पटक आवश्यक पर्छ त्यति पटक निःशुल्क हुने भएको हो। स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा मन्त्रालयको चिकित्सा सेवा महाशाखाले आवश्यकता अनुसारको डायलोसिस निःशुल्क गर्न सोमबार सम्बन्धित अस्पतालहरुलाई परिपत्र गरेको छ।
बिरामीले मिर्गौला प्रत्यारोपण नगर्दासम्म हप्तामा तीन पटक सम्म डायलोसिस गर्नपर्ने मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।
डायलोसिस गर्दा हरेक पटक २५ सय रुपैयाँ लाग्ने गरेको छ। हप्ताको तीन पटक र प्रत्येक पटक २५ सय रुपैयाँका दरले डायलोसिसका लागि मात्रै हरेक हप्ता कम्तीमा ७५ सय रुपैयाँ लाग्ने गर्दछ। यही सेवालाई नै मन्त्रालयले निःशुल्क गरेको हो।
प्रधानमन्त्रीको घोषणा, सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र स्वास्थ्य मन्त्रालयको निर्णय समेतबाट सम्पूर्ण डायलोसिस निःशुल्क हुन लागेको हो।
मन्त्रालयले दिएको निर्देशनमा 'निःशुल्क उपचार गराउने व्यवस्था अनिवार्य कार्यान्वयन गर्न निर्णयानुसार अनुरोध छ' भनिएको छ।
नेपालमा अहिले मानव अंग प्रत्यारोपण केन्द्र र किड्नी सेन्टर सहित ३२ अस्पतालहरुमा निःशुल्क लाडलोसिसको व्यवस्था छ। यीमध्ये चार अञ्चल अस्पताल रहेका छन् भने बाँकी अञ्चल अस्पतालहरुमा पनि मन्त्रालयले निःशुल्क डायलोसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ।
प्रत्येक अञ्चल अस्पतालहरुलाई दुई वटा डायलोसिस मेसिन किनेर सेवा सुरु गर्न मन्त्रालयले आवश्यक रकम पनि पठाइसकेको छ। ६ महिनाभित्रमा सबै अञ्चल अस्पतालहरुमा सेवा सुरु भइसक्ने मन्त्रालयको दाबी छ।