
काठमाडौं : फिल्म 'पुरानो डुङ्गा'ले देशव्यापी रुपमा प्रोमोशन सुरु गर्ने भएको छ।
फिल्म युनिट पूर्व झापादेखि पोखरासम्म दर्शकको सुझाव र प्रतिक्रिया बुझ्न निस्कन लागेको हो।
'निर जैले रिसाउने' गीतका कारण फिल्म रिलिजअघि नै चर्चामा छ। आजै एक कार्यक्रमबीच फिल्मले दोस्रो गीत 'माझी' सार्वजनिक भयो। डुङ्गा चलाएर जीविकोपार्जन गर्ने माझी भक्ते र उसको आवरा भाइ बतासेको अंशका कारण झगडा पर्छ। बतासेले डुङ्गा खोसेर लगेपछि परिवारमा सिर्जना हुने आर्थिक संकट फिल्मको मुख्य कथा हो।
पुरानो डुङ्गामा माओत्से गुरुङ भक्ते, दयाहाङ राई बतासे, मेनुका प्रधान मनमाया र प्रियङ्का कार्की चन्द्रुको रुपमा देखिएका छन्। अन्य कलाकार बुद्धि तामाङ, पुस्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजन गुरुङ आदिको पनि अभिनय देख्न सकिन्छ।
सिनेमा आर्टस् र माओत्से गुरुङ फिल्मको ब्यानरमा बनेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। माओत्से गुरुङको कथालाई फिल्मका लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन्। मंसिर १० फिल्मको रिलिज मिति तोकिएको छ।