PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

माओवादी केन्द्रको मुख्यालय नियन्त्रणमा लिई बसेका १४१ पूर्व लडाकु पक्राउ



पहिलोपोस्ट

माओवादी केन्द्रको मुख्यालय नियन्त्रणमा लिई बसेका १४१ पूर्व लडाकु पक्राउ

काठमाडौं : कोटेश्वरस्थित पेरिसडाँडामा रहेको माओवादी केन्द्रको मुख्यालय नियन्त्रणमा लिई बसेका पूर्व लडाकुहरुलाई प्रहरीले पक्राउ गरेको छ।
 
राज्यले आफूहरुमाथि लगाएको अयोग्यको बिल्ला हटाउनुपर्ने लगायतका माग राखी उनीहरुले सोमबार दिउँसोबाट मुख्यालय घेराउ गरी नियन्त्रणमा लिएका थिए। ताला लगाएर कसैलाई भित्र छिर्न नदिएका उनीहरु रातभर पनि त्यहीँ बसेका थिए।
 
आज बिहान पुगेको प्रहरी टोलीले १४१ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले बताए। जसमा ५७ जना महिला छन्। पक्राउ परेकाहरुलाई टेकु, अनामनगर, तीनकुने, पुलिस क्लब, लगायतका वृत्तमा राखिएको छ।

बर्हिगमित पूर्वलडाकुहरु कतिपय बालबच्चासहित मुख्यालय आएका थिए। संयुक्त्त राष्ट्र संघीय मिसन (अनमिन) को रोहबरमा २०६६ माघमा ४ हजार ९ जनालाई अयोग्य भन्दै शिविरबाट हटाइएको थियो।
 
यसअघि पनि उनीहरुले केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए। पार्टी नेतृत्वबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको र माग पूरा नहुन्जेल आन्दोलन जारी रहने बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन बिष्टले बताएका छन्।

आफूहरुमाथि लगाइएको 'अयोग्य' पदावली फिर्ता गरी गणतन्त्रका योद्धा घोषणा गर्नुपर्ने, बहिर्गमनमा परेका ४ हजार ९ जनालाई जनसेनासरह व्यवहार गर्नुपर्ने, पक्राउ परेका बहिर्गमित जनसेना बिनासर्त रिहा गर्नुपर्ने, घाइते, मानसिक रुपमा बिरामी र आघातमा परेका तथा अशक्त्तहरुलाई सरकारले तत्काल औषधि उपचार, मनोवैज्ञानिक परामर्श दिइनुपर्ने लगायत उनीहरुले ७ बुँदे माग अघि सारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell