PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​सोलिडारिटी कप : नेपालले आज ब्रुनाईसँग खेल्दै



पहिलोपोस्ट

​सोलिडारिटी कप : नेपालले आज ब्रुनाईसँग खेल्दै

काठमाडौं : एएफसी सोलिडारिटी कपको उपाधि जित्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले आज समूहको दोस्रो खेलमा ब्रुनाईसँग प्रतिस्पर्धा गर्दैछ। 

तीन टोली मात्र रहेको समूह ए मा टिमोर लेस्टे विरुद्धको पहिलो खेल जितेको भए नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने थियो। तर लेस्टेसँग गोलरहित बराबरीमा रोकिएसँगै ब्रुनाईसँगको खेल नेपालको लागि सेमिफाइनल प्रवेश गर्न निर्णायक हुनेछ। समूहको पहिलो खेलमा लेस्टेलाई ४-० ले हराएको ब्रुनाई भने सेमिफाइनल पुगिसकेको छ।

अब नेपालले सेमिफाइनलमा स्थान बनाउन ब्रुनाईसँग बराबरी गरे पनि पुग्छ। ब्रुनाईलाई पराजित गर्न सके नेपाल समूह ए को विजेता बन्नेछ भने बराबरीले उपविजेता बन्नेछ।

यद्यपि ब्रुनाईसँगको हारले पनि नेपालको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहन्छ। ३ गोलभन्दा कम अन्तरले पराजित भए नेपाल सेमिफाइनल पुग्नेछ। त्योभन्दा बढी गोल अन्तरमा हारे मात्र नेपाल बाहिरिनेछ।

नेपालले ब्रुनाईसँग यसअघि एक मात्र खेल खेलेको थियो। जसमा नेपाल २-१ ले पराजित भएको थियो।

नेपालका मुख्य प्रशिक्षक गोतोकु कोजीले मलेसिया नजिकै रहेको कारण ब्रुनाई होम टीम जस्तै रहेको र उनीहरुलाई मैदानको बारेमा समेत राम्रो ज्ञान भएकोले विपक्षी विरुद्ध सजग हुनुपर्ने बताएका छन्।

'जितसँगै उनीहरुको मनोबल उच्च छ, हामी सजग हुनु आवश्यक छ। तर हामीले लेस्टे विरुद्धको खेलपछि दुई दिन आराम गर्‍यौं, जसले गर्दा हामी राम्रो प्रदर्शन गर्नेमा आशावादी छौं,' कोजीले भने। 

ब्रुनाईका प्रशिक्षक केवन ओ सोनले आफ्नो टोली सेमिफाइनलमा पुगसिकेकाले खेलाडी सुरक्षामा मुख्य फोकस रहने बताए। 

नेपाल र ब्रुनाईबीचको खेल आज साँझ सवा ५ बजे मलेसियाको कुचिङस्थित सारावक स्टेडियममा हुनेछ।


फोटो : एन्फा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell