
जवा (दक्षिण सुडान) : दक्षिण सुडानको राजधानीमा अवस्थित एक रेस्टुरेन्टमा इङ्गलिस प्रिमियर लिग फुटबल हेर्न जम्मा भएका खेलप्रेमीमाथि एक युवकले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ।
सुडानी प्रहरीका उपप्रवक्ता क्वासिजोक डोमिनिक एमोन्डकले बताएअनुसार शनिबार राति चेल्सी र एभरटन फुटबल क्लबबीच भइरहेको खेल हेर्न बारमा युवाहरु जम्मा भएको ठाउँमा आफूलाई विना शुल्क प्रवेश नदिएको भन्दै उक्त युवकले आक्रमण गरेका थिए। उक्त युवक नशा रहेको प्रत्यक्षदर्शीले जनाएका छन्।
घटनामा घाइते वानी प्याट्रिकका अनुसार फुटबल खेल पर्दामा हेरिरहेका मानिसमाथि एक्कासि गोली चलेको थियो। 'चलाइएको एक गोलीले मलाई पनि लाग्यो तर भाग्यवश उसको अर्को गोलीले मलाई लाग्नुभन्दा पहिले म जमिनमा ढले र केही मानिस ममाथि ढले। म उठ्दा आक्रमणकारीका हतियारमा गोली सकिएकाले मा भाग्न सफल भएँ,' उनले भने।
उक्त होटलमा फुटबल हेर्नका लागि आधा डलर शुल्क लगाइएको थियो।
आक्रमणपछि भागेका उनलाई प्रहरीले उसको खोजी जारी राखेको सरकारका उपप्रवक्ता मल अकोल कोर्डिटले बताए।
दक्षिण सुडानमा गत तीन वर्षयता चलेको गृहयुद्धका कारण राजधानीसहित देशका अन्य भागमा समेत सुरक्षा चुनौती थप बढेको छ।
सन् २०१६ को जुलाईमा राष्ट्रपति साल्भा कीर र पूर्व उपराष्ट्रपति तथा प्रतिपक्षी दलका नेता रेइक मसारबीच मनमुटाव देखिएपछि भएको झडपमा करिब ४ सय जना दक्षिण सुडानी नागरिकको मृत्यु भएको थियो। रासस/एएफपी